वाग्मतीसहित पाँच प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
111 पटक पढिएको
काठमाडौं ।मनसुनी वायुको प्रत्यक्ष प्रभाव र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक अवस्थित रहेकाले आज देशभर आंशिकदेखि साधारणतया बदली भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पाँचवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल देशभर साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। विशेषगरी बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाडी भूभागका साथै मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले बुलेटिनमार्फत सूचित गरेको छ।








https://shorturl.fm/3Lo2i
https://shorturl.fm/zv4Kj
https://shorturl.fm/akMOv