नेपाल ज्योतिष परिषद् धादिङको तेस्रो अधिवेशन सम्पन्न: विष्णु न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

172 पटक पढिएको

२४ श्रावण २०८३, आईतवार २१:०७ सम्पादक: धादिङ न्यूज

धादिङ। नेपाल ज्योतिष परिषद् धादिङको तेस्रो जिल्ला अधिवेशन गल्छी गाउँपालिका–६ स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले विष्णु न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ।

अध्यक्ष न्यौपाने दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत रूपमा नेतृत्वमा दोहोरिनुभएको हो। कार्यक्रममा वक्ताहरूले ज्योतिष शास्त्रको अध्ययन–अध्यापनलाई व्यवस्थित, वैज्ञानिक र व्यापक बनाइनुपर्नेमा विशेष जोड दिएका थिए।

 अधिवेशनका प्रमुख अतिथि एवम् नेपाल ज्योतिष परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले वैदिक सनातन धर्म र संस्कृतिमा ज्योतिष शास्त्रलाई मूल ‘नेत्र’ (आँखा) का रूपमा स्वीकार गरिएको बताउनुभयो। समय र मानव कर्मबीच अत्यन्तै गहिरो सम्बन्ध रहने चर्चा गर्दै उहाँले जुनसुकै सत्कर्मका लागि सही समय र मुहूर्तको आवश्यकता पर्ने भएकाले सनातन जीवनशैलीमा ज्योतिषको भूमिका अपरिमित रहेको धारणा राख्नुभयो।

कार्यक्रमका विशेष अतिथि परिषद्का केन्द्रीय उपमहासचिव डा. दीपक शर्मा दाहालले ज्योतिष विषयको अध्ययन तथा अध्यापनको दायरा फराकिलो बनाउँदै राष्ट्रियस्तरमै तालिमहरू आयोजना गरी ज्ञानमा एकरूपता ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँले संस्थागत गतिविधिहरूलाई अझ सशक्त र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो।

यसैगरी, बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले ज्योतिष शास्त्रको पठनपाठनलाई संगठनात्मक ढाँचामा अघि बढाउँदै प्रदेशका सबै जिल्लाका आम नागरिकले आफ्नै घरमा बसेर अध्ययन गर्न सक्ने अनुकूल वातावरण बनाउन परिषद् क्रियाशील रहेको बताउनुभयो।

 पुनः अध्यक्ष पदमा निर्वाचित भएपछि मन्तव्य राख्दै विष्णु न्यौपानेले मानव जीवनका हरेक महत्वपूर्ण मोड—जन्मदेखि मृत्युसम्मका घटनाको सूक्ष्म समय गणना र निर्धारणका लागि शास्त्रीय मान्यता अपरिहार्य हुने उल्लेख गर्नुभयो। ज्योतिष शास्त्रको स्थापित मर्यादा र धार्मिक सिद्धान्तहरूलाई आत्मसात् गर्दै आगामी दिनमा परिषद्का गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

नवगठित समितिका सचिव रामहरि सुवेदीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको उक्त समारोहमा बागमती प्रदेशका निवर्तमान वरिष्ठ उपाध्यक्ष वासुदेव वत्सले ज्योतिष शास्त्रको उपादेयताबारे प्रकाश पार्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

 अधिवेशनका अवसरमा ज्योतिष, धर्म तथा समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष न्यौपानेले अधिवेशन भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक, प्रतिनिधि तथा अतिथिहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले आगामी कार्यकालमा पनि सबैको रचनात्मक सल्लाह र सहकार्यको अपेक्षा राखिएको बताउनुभयो।

नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति धादिङको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । २०८३ साउन २३ गते सोमबार सम्पन्न अधिवेशनले  विष्णुप्रसाद न्यौपानेको अध्यक्षतातमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

गठित कार्यसमितिको उपाध्यक्षहरूमा  प्रविण रिमाल र  नारायणप्रसाद ढकाल चयन हुनुभएको छ । त्यसैगरी सचिवमा  रामहरी सुवेदी तथा सहसचिवद्वयमा जनार्दन नेपाल र  सन्तोष आचार्य निर्वाचित हुनुभएको छ । समितिको कोषाध्यक्ष पदमा  रमेशप्रसाद खनाल चयन हुनुभएको छ ।

अधिवेशनबाट कार्यसमिति सदस्यहरूमा  मणिकान्त भण्डारी,  नवराज पौडेल, सुजनकुमार भण्डारी,  दामोदर कोइराला,  रामप्रसाद नेपाल,  रामकृष्ण धिताल,  केशव रिमाल,  उपेन्द्र रेग्मी,  बालकृष्ण खनाल र  विष्णुप्रसाद लम्साल निर्वाचित हुनुभएको छ ।

प्रमुख निर्वाचन अधिकृत  दीपक शर्मा दाहालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्दै बधाई ज्ञापन गर्नुभएको छ ।

अधिवेशन भव्यताका साथ सम्पन्न गराउन परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष माधवराज पाण्डे, केन्द्रीय उपमहासचिव डा. दीपक शर्मा दाहाल, केन्द्रीय सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष चोलेन्द्र रिजाल तथा बागमती प्रदेश अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाको भूमिका महत्वपूर्ण रहेको आयोजकले जनाएको छ।

त्यस्तै, थाक्रे–२ सिम्ले निवासी समाजसेवी शिवबहादुर थापा, धुनीबेँसीका दीपेन्द्र पाठक, नेपाल ज्योतिष परिषद् बागमती प्रदेश सदस्य हरिप्रसाद लुइँटेललगायत विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने सबै सहयोगी हातहरूलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो।

कार्यक्रममा ज्योतिष शास्त्रको प्रामाणिकता र महत्व दर्शाउन निम्न प्रसिद्ध वैदिक ऋचाहरू समेत प्रस्तुत गरिएको थियो: