आज बागमती.कोशी र गण्डकीसहित विभिन्न प्रदेशमा अति भारी वर्षाको चेतावनी

121 पटक पढिएको

२५ श्रावण २०८३, सोमबार ०७:०२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रत्यक्ष प्रभाव जारी रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आगामी केही दिन देशभर मौसमी गतिविधि तीव्र हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
हाल कोशी र लुम्बिनी प्रदेशका सबै भू-भागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। यस्तै मधेश प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदलीको अवस्था छ। महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। देशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाका साथै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुनेछ भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही र मधेश, बागमती तथा गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि मौसमी प्रणाली थप सक्रिय रहने महाशाखाले जनाएको छ। राति देशभर साधारणतया बादल लागिरहनेछ भने हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना कायम रहनेछ। पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। मधेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाका साथै एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
लगातारको वर्षाका कारण पहाडी भू-भागमा गेग्रान बहाव, पहिरो तथा भू-क्षयको जोखिम बढेको छ। साना तथा ठूला नदी-नाला र खोलाहरूमा जलसतह अचानक बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, शहरी क्षेत्र तथा तराईका होचा भू-भागमा डुबानको खतरा रहने र सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन अपिल गरिएको छ।