सिद्धलेकको ७ नम्बर वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी (भिडियो सहित ) बालुवा उद्योगको विवाद र पालिकाअध्यक्षको 'इगो'ले वडा सचिव निकालिएको आरोप

462 पटक पढिएको

२५ श्रावण २०८३, सोमबार १२:११ सम्पादक: धादिङ न्यूज

धादिङ, २५ साउन – धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ मा कार्यरत कर्मचारीलाई बिनाकारण र व्यक्तिगत इगोका आधारमा हटाइएको भन्दै स्थानीय बासिन्दाहरूले सोमबार वडा कार्यालयको मूल ढोकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। कर्मचारी निष्कासनसँगै वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण दैनिक सेवा ठप्प भएको छ।

तत्कालीन साविक नलाङ, सलाङ र कुम्पुर गाउँ विकास समितिमा जिल्ला विकास समिति मार्फत २०६७ सालमा नियुक्ति भई आएका ३ जना कर्मचारीमध्ये शान्ति मगराती सिद्धलेक गाउँपालिका वडा नं. ७ मा कार्यरत थिइन्। उनले पछिल्लो समय वडा सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएकी थिइन्।

गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यद्वारा साउन ६ गते जारी पत्रमार्फत मगरातीलाई अचानक सेवा निरन्तरता नदिने (म्याद थप नगरिने) निर्णय थमाइएको थियो। गाउँपालिकाले दरबन्दीभन्दा बाहिर करारमा कार्यरत कर्मचारीको म्याद थप नगर्ने ४२ औं निर्णयलाई कारण देखाए पनि, भित्री कारण भने बालुवा खानीको विवाद र गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको व्यक्तिगत ‘इगो’ रहेको आन्दोलित स्थानीयले बताएका छन्।

 स्थानीयका अनुसार सिद्धलेक–७ पिपलटारका विशाल गिरी (रुद्रबहादुर) ले सञ्चालन गरेको फिरफिरे (बालुवा प्रशोधन केन्द्र) प्रति अध्यक्ष खतिवडा रुष्ट रहँदै आएका थिए। गिरीलाई उक्त उद्योग सञ्चालनमा अध्यक्ष खतिवडाले निरन्तर अवरोध गरेपछि गत असार ३२ गते नेपाली कांग्रेसको गाउँपालिका समितिको बैठकमा चर्को विवाद उत्पन्न भएको थियो। सोही विवादका क्रममा गिरीले अध्यक्ष खतिवडालाई हातपात गरेपछि गिरीलाई प्रहरीले पक्राउ गरी हालसम्म हिरासतमा राखेको छ।

सोही बालुवा खानी सञ्चालन गर्न वडाबाट सिफारिस दिएको र विद्युत् मिटर जडानका लागि विद्युत् प्राधिकरणलाई सिफारिस गरेकै झोकमा अध्यक्ष खतिवडाले वडा सचिवको जिम्मेवारी सम्हालिरहेकी शान्तिलाई जागिरबाट निकालेको स्थानीयको दाबी छ। रोचक कुरा त के छ भने, ७ नम्बर वडा गाउँपालिका अध्यक्ष खतिवडाकै आफ्नै गृह वडा हो र उनी त्यहीँका बासिन्दा हुन्।

मगरातीसँगै नियुक्ति पाएका अन्य २ जना कर्मचारीलाई सेवामा निरन्तरता दिइनु तर शान्तिलाई मात्र हटाइनुले यो कदम पूर्वाग्रहपूर्ण रहेको प्रस्ट हुने स्थानीयको भनाइ छ। साउन ६ गतेयता समस्या समाधानका लागि पटक-पटक आश्वासन दिइए पनि सुनुवाइ नभएपछि बाध्य भएर वडा कार्यालयमा ताला लगाउनुपरेको स्थानीयले बताएका छन्।

यस विषयमा आधिकारिक धारणा र प्रतिक्रिया लिन धादिङ न्यूज प्रतिनिधी गाउँपालिकाको कार्यालयमा पुग्दा गाउँपालिका अध्यक्ष परशुराम खतिवडा र प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य कोही पनि कार्यालयमा भेटिएनन्।

यसैबीच, वडा कार्यालयमा भएको तालाबन्दीबारे सिद्धलेक वडा नं. ७ का वडा अध्यक्ष सानु गिरीसँग प्रतिक्रिया माग्दा उनले कार्यालयमा तालाबन्दी भएको खबर आफूले पाएको भए पनि केही दिनदेखि पारिवारिक कामले काठमाडौंमा रहेको जानकारी दिए। वडामा कार्यरत कर्मचारीको विषयमा आम नागरिकले राखेको चासो र मागलाई तत्काल गाउँपालिकाको तर्फबाट सम्बोधन गरिनुपर्ने अध्यक्ष गिरीले बताएका छन्।

हटाइएकी कर्मचारी शान्ति मगरातीको पुनर्बहाली नभएसम्म वडा कार्यालयको ताला नखोलिने र जबरजस्ती गर्न खोजिए कडा प्रतिरोधमा उत्रने चेतावनी स्थानीयले दिएका छन्। अचानक वडा कार्यालय बन्द हुँदा सेवा लिन पुगेका सर्वसाधारण सेवाग्राहीहरू भने नराम्ररी प्रभावित भएका छन्।