सिद्धलेक गाउँपालिका अध्यक्ष खतिवडालाई झापड हानेको आरोपामा थुनिएका तरुण दलका क्षेत्रीय अध्यक्ष विशाल गिरी धरौटीमा रिहा
534 पटक पढिएको
धादिङ, २७ साउन ।सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडामाथि हातपात गरेको आरोपमा पक्राउ परेका नेपाल तरुण दल धादिङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विशाल गिरी रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङको आदेशमा रु. १०,००० (दस हजार) धरौटी बुझाएर गिरी साउन २७ गते १६ दिनको हिरासत बसाइपछि रिहा भएका हुन्।
सिद्धलेक गाउँपालिकाको पिपलटारमा सञ्चालित ‘विशाल एण्ड भवानी सेन्ड वास’ नामक बालुवा प्रशोधन केन्द्रको विषयलाई लिएर दुवै पक्षबीच लामो समयदेखि किचलो चल्दै आएको थियो। व्यवसायी समेत रहेका तरुण दल नेता गिरीले गाउँपालिका अध्यक्ष खतिवडाले शक्तिको आडमा आफ्नो उद्योग सञ्चालनमा अनावश्यक झमेला खडा गरी दुःख दिएको आरोप लगाउँदै आएका थिए।
यसै क्रममा गत असार ३२ गते नेपाली कांग्रेस सिद्धलेक पालिका समितिको बैठक बसिरहेको स्थानभित्रै गिरी र अध्यक्ष खतिवडाबीच भनाभन भएको थियो। भनाभन उग्र बनेपछि बैठकस्थलमै गिरीले अध्यक्ष खतिवडालाई झापड हानेका थिए।
पार्टी बैठकभित्रै हातपात भएपछि अध्यक्ष खतिवडाले साउन १ गते जिल्ला प्रहरी कार्यालय धादिङमा गिरीविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए। जाहेरी परेपछि प्रहरीले गिरीको खोजतलास सुरु गरेको थियो।
आफूविरुद्ध परेको उजुरीका विषयमा जानकारी लिन र बुझ्नका लागि साउन १२ गते जिल्ला प्रहरी कार्यालय धादिङ पुगेका गिरीलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो। यद्यपि प्रहरीले भने साउन १३ गते मात्रै प्रेस नोट जारी गर्दै गिरीलाई पक्राउ गरिएको औपचारिक जानकारी गराएको थियो।
जिल्ला प्रशासन कार्यालय धादिङले सुरुमा ८ दिनको म्याद दिई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको थियो। पछि पुनः म्याद थप गरी कुल १६ दिन हिरासतमा राखिएपछि साउन २७ गते धरौटीमा छाड्ने आदेश भएको हो। रिहाइपछि धादिङ न्यूज सङ्ग कुरा गर्दै गिरीले जिल्ला प्रशासनको आदेश अनुसार धरौटी बुझाएर आफू थुनामुक्त भएको जानकारी दिएका छन्।







