मध्यरातमा धौखोलाको बाढीले मच्चायो वितण्डा, सात घर विस्थापित हुने जोखिम

276 पटक पढिएको

२९ श्रावण २०८३, शुक्रबार ०८:३८ सम्पादक: धादिङ न्यूज

धादिङ, २९ साउन । अविरल वर्षापछि धादिङको तीन स्थानीय तहको सिमानामा रहेको धौखोला बजारमा मध्यरातमा भीषण बाढी आएको छ। नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाको संगमस्थलमा रहेको धौखोलामा राति अचानक बाढीको बहाव बढेपछि आसपासको बस्तीमा त्रास फैलिएको हो।

बाढी बस्तीमा पसेपछि खोला छेउका घरहरू डुबानमा परेका छन्। कम्तीमा सात घरपरिवार तत्काल विस्थापित हुनुपर्ने जोखिममा परेका छन्। राति अचानक घरभित्रै बाढी पसेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका थिए।

स्थानीय गोपिनी मैनाली सिलवालका अनुसार शुक्रबार बिहान खोलामा पानीको बहाव घटेर खोला तर्न सक्ने अवस्था भए पनि राति आएको बाढी घरभित्रै पसेर क्षति पुर्‍याएको छ। बाढीले घरमा क्षति पुर्‍याएपछि आगामी दिनमा जुनसुकै बेला फेरि बाढी आउन सक्ने र कति बेला के हुने हो भन्ने त्रासमा बस्नुपरेको उहाँले बताउनुभयो।

घटनाको जानकारी पाएपछि नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठ राति पौने १२ वजे नै घटनास्थल पुग्नुभएको थियो। उहाँले घटनास्थलबाटै भिडियोमार्फत बाढीको अवस्था र स्थानीयको जोखिमबारे जानकारी गराउनुभएको थियो।

बाढीले सडक तथा अन्य भौतिक संरचनामा समेत  क्षति पुर्‍याएको छ। ससाह–मैदीभञ्ज्याङ–अमराई हुँदै गोरखाको दरबुङ जोड्ने महत्त्वपूर्ण सडकखण्ड बाढीले क्षतिग्रस्त बनाएपछि आवतजावत प्रभावित भएको छ। धार्मिक स्थल ढोला मण्डली दर्शन गर्न आउने भक्तजनका लागि बनाइएको पार्कसमेत बाढीले बगाएर क्षति पुर्‍याएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो।

बिहान बाढीको बहाव केही घटे पनि धौखोला आसपासका बासिन्दाको जोखिम भने कायमै छ। वर्षा पुनः बढेमा खोलामा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले स्थानीयहरू त्रसित छन्। रातिको बाढीले घर तथा संरचनामा क्षति पुर्‍याएको  छ।

स्थानीयका अनुसार धौखोला क्षेत्रमा पटक–पटक बाढीको समस्या दोहोरिँदै आए पनि दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले पर्याप्त ध्यान दिएको छैन। वडाध्यक्ष श्रेष्ठले समेत सिमानाको विषय देखाउँदै समस्या समाधानबाट पन्छिने प्रवृत्ति रहेको गुनासो गर्नुभएको छ। उहाँका अनुसार ज्वालामुखी गाउँपालिकासँग सडक तथा बाढी नियन्त्रणको विषयमा ध्यानाकर्षण गराउँदा ‘आफ्नो पालिकाको सडक नभएको’ भन्दै पन्छिने गरिएको छ।

बाढीबाट प्रभावित परिवारको सुरक्षित स्थानान्तरण, क्षतिग्रस्त सडक सञ्चालन तथा थप क्षति रोक्न तत्काल पहल आवश्यक देखिएको छ। वर्षायाम अझै बाँकी रहेकाले धौखोलाको बहावमा पुनः वृद्धि भएमा बस्ती तथा भौतिक संरचनामा थप क्षति हुनसक्ने जोखिम कायमै छ।