वरिष्ठ पत्रकार जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति पत्रकार महासंघ धादिङको आपत्ति, तत्काल रिहाइको माग

124 पटक पढिएको

२९ श्रावण २०८३, शुक्रबार १७:०५ सम्पादक: धादिङ न्यूज

धादिङ – वरिष्ठ पत्रकार जनआस्था साप्ताहिकका सम्पादक पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ धादिङ शाखाले गम्भीर आपत्ति जनाउँदै उनको तत्काल र बिनासर्त रिहाइको माग गरेको छ।

शाखाका अध्यक्ष सीताराम अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय धादिङमार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष पठाउँदै महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमा समाचार वा प्रसारित सामग्रीप्रति कुनै असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने वा सम्बन्धित मिडियामा खण्डन/प्रष्टीकरण प्रकाशित गर्ने कानुनी तथा संवैधानिक व्यवस्था रहेको स्मरण गराइएको छ। स्थापित लोकतान्त्रिक मान्यता र पत्रकार आचारसंहिताको आधारभूत सिद्धान्तलाई पूर्णतः बेवास्ता गर्दै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकोमा महासंघले घोर भत्सर्ना गरेको छ।

महासंघले पत्रकार श्रेष्ठलाई कुन कारण र आधारमा पक्राउ गरिएको हो, त्यसको पारदर्शी र चित्तबुझ्दो कारण तत्काल सार्वजनिक गर्न माग गरेको छ। साथै, राज्य संयन्त्रको दुरुपयोग गरी मिडिया र पत्रकारहरूलाई तर्साउने र धम्क्याउने नियतले यस्ता कदम चालिएको भन्दै संविधानप्रदत्त पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारसँग जोडदार माग गरिएको छ।

लोकतन्त्रमा प्रेसमाथि हुने कुनै पनि किसिमको दमन र हस्तक्षेप महासंघका लागि कदापि स्वीकार्य नहुने उल्लेख गर्दै ज्ञापनपत्रमा मिडियासँग सम्बन्धित विवादलाई प्रेस काउन्सिलमार्फत नै वैधानिक र न्यायोचित ढङ्गले समाधान गरिनुपर्ने जोड दिइएको छ। स्वतन्त्र प्रेसमाथि भइरहेको दमनविरुद्ध एकताबद्ध भई आवाज उठाउन महासंघले सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज र अधिकारकर्मीहरूसँग हार्दिक आह्वानसमेत गरेको छ।