नीलकण्ठ-१२ को कुडुले ड्याममा राखियो ‘प्रवेश निषेध’ बोर्ड

123 पटक पढिएको

१ भाद्र २०८३, सोमबार १८:४८ सम्पादक: धादिङ न्यूज

धादिङ, १ भदौ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित थोपल खोलाको कुडुले ड्याम क्षेत्रमा लगातार दुर्घटना हुन थालेपछि सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न नगरपालिकाले “जोखिमयुक्त क्षेत्र, प्रवेश निषेध” लेखिएको सूचना बोर्ड राखेको छ।

गत साउन २७ गते बुधबार पौडी खेल्ने क्रममा कुडुले ड्यामबाट बगेर रुबीभ्याली गाउँपालिका–३ सेर्तुङका १९ वर्षीय नरेश घलेको मृत्यु भएको थियो। ड्यामबाट बगेका उनलाई करिब एक किलोमिटर तल बसपार्क नजिक मृत अवस्थामा फेला पारिएको थियो।

पटक-पटक यस्ता दुःखद घटना दोहोरिन थालेपछि नगरपालिकाले ड्याम स्थलमै चेतावनी बोर्ड राख्दै भनेको छ, “यो ठाउँ रमाइलो होइन, सावधानी अपनाऔँ, सुरक्षित रहौँ।”

खोलाको तीव्र बहाव र गहिरो भागका कारण विगतमा धेरैले अकालमै ज्यान गुमाइसकेकाले सो स्थानमा पौडी नखेल्न, ननुहाउन र प्रवेश नगर्न सर्वसाधारणलाई सचेत गराउन सूचना बोर्ड राखिएको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो।