“विश्वास भत्किनुको अर्थ सम्बन्ध टुट्नु मात्र होइन, आत्म-सम्मान भत्किनु हो।”
260 पटक पढिएको
✍️ अर्पणा श्रेष्ठ
विवाह संस्था मानव समाजको सबैभन्दा पुरानो, बलियो र महत्वपूर्ण संस्था हो। यो केवल दुई व्यक्तिको कानुनी र धार्मिक बन्धन मात्र होइन; यो कानुनी सम्झौता, सामाजिक सम्झौता, भावनात्मक बन्धन, जिम्मेवारीको विद्यालय र दुई परिवार, दुई सपना, दुई संस्कार-परम्परा र दुई भविष्यलाई जोड्ने पवित्र पुल हो। विवाहले व्यक्तिलाई मात्र होइन, समाजलाई पनि अनुशासन, जिम्मेवारी र स्थिरता दिन्छ। यो संस्थाको सबैभन्दा बलियो आधार विश्वास, इमान्दारिता र आपसी सम्मान हो। कानुनी रूपमा यसले श्रीमान्-श्रीमतीको अधिकार र कर्तव्य तोक्छ भने सामाजिक रूपमा यसले परिवार निर्माण र नयाँ पुस्तालाई संस्कार दिने काम गर्छ। विवाहभित्रै माया, त्याग, इज्जत, सञ्चार, सहयोग, जिम्मेवारी र भोलिको पुस्ता बनाउने सहकार्यको पाठ सिकिन्छ।
तर जब विवाह संस्थाभित्र विश्वास भत्किन्छ, झुट र धोका पस्छ, तब घर मात्र होइन एउटा पुस्ताको भविष्य नै अन्धकार हुन्छ। एउटा मान्छे भित्र-भित्रै भत्किएर खरानी हुन्छ। अनि आफ्नो कुरा राख्ने ठाउँ नपाएर आज सामाजिक सञ्जालको भित्तामा विवाह संस्थाको विश्वासको प्रदूषण देखिन्छ। त्यसैले विवाहलाई टिकाउन कागज होइन, दैनिक व्यवहार र इमान्दारिता चाहिन्छ। विवाह संस्था कानुन, विश्वास, जिम्मेवारी र समाजको भोलिको पुस्ताको जग हो। यो जग बलियो भयो भने परिवार बलियो हुन्छ; परिवार बलियो भयो भने समुदाय, समाज र राष्ट्र बलियो हुन्छ।
१. विश्वास भत्केपछि पहिलो चोट कहाँ लाग्छ?
वर्तमान समयमा परस्त्रीसँग लागेको लोग्नेलाई सुधार्छु भन्ने भ्रममा कहिल्यै नबस्नु; किनभने ढिलो होस् या चाँडो छोडेर जाने विचार भएपछि उसले टर्चर दिएर हुन्छ कि यातना दिएर हुन्छ—कि त छोड्छ, कि त छोड्न बाध्य बनाउँछ।
विश्वास भत्किनुको अर्थ सम्बन्ध टुट्नु मात्र होइन, पीडितको आत्म-सम्मान भत्किनु हो। हरेक दिन आफ्नै घरमा “अपरिचित” सँग बस्नु, “मैले के गल्ती गरेँ?” भन्ने प्रश्नले हरेक रात निद्रा खोसिनु, “के मैले प्रेममा कमी गरेँ? के मैले बुझिनँ?” भनेर आफैँलाई दोष दिन थाल्नु र सबैभन्दा ठूलो कुरा—आफ्नै छायामाथि पनि शंका गर्न थाल्नु हो।
पीडितको चोट बाहिर देखिँदैन, किनकि उसलाई सानैदेखि सिकाइएको छ—”घरको कुरा बाहिर ननिकाल्नु”। परिणाम के हुन्छ? पीडित फेरि चुप लाग्छ र अपराधी अझै बलियो हुन्छ। वैवाहिक सम्बन्ध भनेको दुई जनाको सम्झौता मात्र होइन, यो परिवार, समाज र भोलिको पुस्ताको जग हो। तर जब त्यही जगको इट्टा—विश्वास भत्किन्छ, तब भित्रको मान्छे सबैभन्दा पहिले भत्किन्छ।
पीडितको गल्ती के हुन्छ? उसले माया गरेको हुन्छ, भरोसा गरेको हुन्छ। सबैभन्दा ठूलो पीडा के हो भने—घरभित्रै कैदी जस्तो महसुस हुन्छ। जसलाई सबै कुरा भन्नुपर्ने हो, उहीबाट सबै कुरा लुकाइएको हुन्छ।
२. अनि समाजले के भन्छ?
पीडितले मनको कुरा खोल्न खोज्दा समाजको पहिलो जवाफ तयार हुन्छ:
-
घरको कुरा घरमै मिलाउनु।
-
बच्चाको भविष्य सोच।
-
लोकलाज के होला?
-
धार्मिक, संस्कार र परम्परा सोच।
-
पुरुष/महिला हो, त्यस्तो त भइहाल्छ।
-
यो त सानो कुरा हो, सहनुस्।
यही वाक्यहरूले पीडितको मुख थुनेर उसलाई फेरि त्यही चोट लागेको घरमा फर्काइदिन्छ। हामी सम्बन्ध बचाउने नाममा पीडितलाई बचाउँदैनौँ; हामी सम्बन्धको “नाम” बचाउँछौँ र पीडितलाई झन् धेरै पीडित बनाउँछौँ।
३. पीडित कहाँ जाने त?
पहिले विवाह टुट्नु “लोकलाज” थियो, आज विवाहभित्रै बसेर “विश्वास टुट्नु” सामान्य भइसक्यो। झुट, धोका, आर्थिक नियन्त्रण, मानसिक यातना—यी सबै “घरको कुरा” भनेर थन्काइन्छ। समाजले बाटो बन्द गरिदिएपछि पीडितसँग ४ वटा ढोका मात्र बाँकी रहन्छन्:
-
पहिलो – आफ्नो मन:तपाईं पागल हुनुहुन्न। तपाईंले धेरै माग्नुभएको होइन, केवल इमान्दारिता र विश्वास माग्नुभएको हो। जुन मन दुखेको छ, त्यसले कहिल्यै झुट बोल्दैन। पहिले आफैँलाई विश्वास गर्नुहोस्। तपाईं शंका धेरै गर्नुहुन्न। आफ्नो आत्म-सम्मान बेचेर सम्बन्ध टिकाउनु पर्दैन।
-
दोस्रो – भरपर्दो मान्छे (आमा, दाजुभाइ, साथी):कोही १ जना यस्तो मान्छे खोज्नुस् जसले “सहनुस्” भन्दैन, “म छु, के गर्न सक्छु?” भन्छ। सबैलाई भन्नु पर्दैन, एउटा साँचो काँध काफी हुन्छ।
-
तेस्रो – कानुन र संस्था:मानसिक यातना, आर्थिक नियन्त्रण, धोका—यी सबै कानुनको दायरामा पर्छन्। नेपालमा महिला हिंसा विरुद्धको २४ घण्टे हटलाइन ११४५ र नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० छ। महिला अधिकार, मानव अधिकारका संघ-संस्थाहरू, जिल्ला प्रहरी कार्यालय (महिला तथा बालबालिका सेल), र जिल्ला अदालतमा मेलमिलाप केन्द्र तथा निःशुल्क कानुनी सहायता उपलब्ध छ। पुरुष पीडित भए पनि कानुनी सल्लाह र सहायता लिन पाउनुहुन्छ। चुप लाग्नु बाध्यता होइन। हामीले यी ढोका खोलिदिनुपर्छ; थुनेर “कहाँ जान्छस्?” भनेर सोध्नु हुँदैन।
-
चौथो – आफ्नो खुट्टा (आत्मनिर्भरता):आर्थिक रूपमा आत्मनिर्भर बन्ने बाटो खोज्नुस्। सीप सिक्नुस्, तालिम लिनुस्, सानो भए पनि आफ्नो आम्दानीको बाटो बनाउनुस्। किनकि धेरैले “कहाँ जाने” भनेर त्यही घरमा बस्नुको मुख्य कारण पैसाको बाध्यता हो। आर्थिक रूपमा स्वतन्त्र हुनु भनेको कसैको दयामा नबाँच्नु हो।
४. समाजले के बुझ्नुपर्छ?
सम्बन्ध जोगाउनुको अर्थ पीडितलाई बलि चढाउनु होइन। “घर भत्केला” भनेर डराएर एउटा मान्छेलाई हरेक दिन भित्र-भित्रै मर्न दिनु ठूलो पाप हो। यदि छोरी/छोरा/दिदी/भाइ आएर “मलाई दुखेको छ” भन्छ भने पहिले सुन्नुस्, “म तिमीसँग छु, अब म कसरी सहयोग गर्न सक्छु?” भन्नुस्। जज नगर्नुस्। “के गरेकी थिइस्?” भनेर सोध्नुभन्दा “अब के चाहिन्छ?” भनेर सोध्नुस्।
र सबैभन्दा ठूलो कुरा—धोका गर्नेको पक्ष नलिनुस्। उसलाई जवाफदेही बनाऔँ। “उ त्यस्तो होइन” भनेर ढाकछोप गर्नुभन्दा “गल्ती गरिस भने माफी माग” भनेर सिकाऔँ। पीडितको घाउमा नुन नछर्किऔँ। पीडितलाई बाटो देखाऔँ, बाटो बन्द नगरौँ। दोषीलाई संरक्षण नगरौँ, नत्र भोलि अर्को आफ्नै छोरीको घर भत्किन्छ। हिंसा, धोका, मानसिक यातना—यी “सानो कुरा” होइनन्, यी अपराध हुन्। सहन भन्नु भनेको अपराधीलाई अर्को मौका दिनु हो। सम्बन्धको नाम होइन, सम्बन्धको इमान्दारिता जोगाऔँ। खाली कागज र फोटाको लागि एउटा मान्छेलाई हरेक दिन मर्न दिनु सम्बन्ध जोगाउनु होइन, त्यो त क्रूरता हो।
समाजले विवाहलाई “२ जनाको कुरा” मात्र मान्दैन, किनकि एउटा घर भत्किँदा १० वटा घरमा असर पर्छ। त्यसैले समाजले हेर्ने कोणबाट यी कुरा याद गर्नैपर्छ:
-
विश्वास मागेर आउँदैन, कमाएर आउँछ: बारम्बार “विश्वास छैन?” भन्ने मान्छेले सायद आफैँ विश्वास गर्न लायक काम गरेको हुँदैन।
-
विवाह भनेको “म” बाट “हामी” बन्नु हो: आफ्नो इगो, आफ्नो जिद्दी, आफ्नो “म सही छु” भन्ने कुरा साइडमा राख्न सक्नुपर्छ। यहाँ जित-हार हुँदैन; या त दुवै जित्छौँ, या त दुवै हार्छौँ।
-
विवाह भनेको इज्जतको सम्झौता हो, कागजको मात्र होइन: समाजले पहिले सोध्छ—”फलानाको घर कस्तो छ?” कागज, दाइजो वा पार्टीले इज्जत जोगाउँदैन; दुवै परिवारले एक-अर्कालाई दिएको सम्मानले जोगाउँछ।
-
“घरको कुरा घरमै” भन्ने बहाना बन्द गरौँ: आफूले सहन सक्नेजति सहौँ, तर अति भएपछि बहानाबाजी बन्द गरौँ। हिंसा, धोका र मानसिक यातना “व्यक्तिगत कुरा” होइनन्, यो सामाजिक रोग हो। आज हामीले छिमेकीको घरमा आगो लाग्दा “उनीहरूको कुरा” भनेर ढोका बन्द गर्यौँ भने भोलि हाम्रै घरमा बल्छ।
-
बच्चाको नाममा जेल बन्न दिनुहुँदैन: समाजको सबैभन्दा ठूलो झुट—”बच्चाको लागि भए पनि सहनुस्”। झगडा, चिच्याहट र झुट भएको घरमा हुर्केको बच्चाभन्दा शान्त घरमा हुर्केको बच्चा धेरै राम्रो नागरिक बन्छ। समाजले बच्चाको “भविष्य” भन्दा “वर्तमान” को सुरक्षाको कुरा गर्नुपर्छ।
-
छोरालाई पनि संस्कार, छोरीलाई पनि हिम्मत सिकाउनुस्: छोरालाई “पुरुष हो, बाहिर त्यस्तो हुन्छ” र छोरीलाई “सहनै पर्छ” भनेर हुर्काउने समाजले कहिल्यै बलियो विवाह पाउँदैन। दुवैलाई इमान्दारिता, जवाफदेही र सम्मानको पाठ सिकाउनुपर्छ।
-
सम्बन्धको लम्बाइ होइन, गहिराइ जाँचौँ: “२५ वर्ष भयो” भन्ने मात्र ठूलो कुरा होइन, “२५ वर्षमा कति इज्जत र कति विश्वास बाँकी छ?” त्यो सोध्ने समाज चाहियो। नामको लागि बाँच्ने विवाहले समाजलाई नक्कली उदाहरण मात्र दिन्छ।
-
बिदा हुनु असफलता होइन, जबरजस्ती बोक्नु असफलता हो: डर र “लोकलाज” को कारण एउटा मान्छेलाई जिन्दगीभर घाटमा बाँध्नु समाजको क्रूरता हो। सम्मानपूर्वक अलग हुन सक्नु पनि एउटा परिपक्वता हो; समाजले त्यो बुझ्नुपर्छ।
अन्तिम कुरा
विवाह संस्था राष्ट्रको जग र मन्दिर हो। यो जग बलियो भए परिवार बलियो हुन्छ; परिवार बलियो भए समाज र राष्ट्र बलियो हुन्छ। तर जगकै इट्टा, मन्दिरको ढुङ्गा—विश्वास चोरेर कुनै पनि संस्था लामो समय टिक्दैन र त्यो मन्दिर रहँदैन। विवाह टिकाउन कागज, गहना वा ठूलो पार्टीले होइन, दैनिक इज्जत, समय र इमान्दारिताले गर्छ। विश्वास नभएको विवाह बन्धन होइन, त्यो एउटा जेल हो। विश्वास नभएको घर घर होइन, त्यो एउटा अभिनयको स्टेज मात्र हो।
समाजका अगुवा, शिक्षक, पत्रकार, आमा-बुबा, साथीहरू! अब “घरको कुरा” भनेर पन्छाउने बेला सकियो। आज हामीले कसैको आँसु पुछिदिएनौँ भने भोलि त्यो आँसु हाम्रै घरमा बग्नेछ। त्यसैले पीडित पक्षलाई “तिमी कहाँ जान्छौ?” भनेर सोध्नुभन्दा पहिले, समाजलाई सोधौँ—”हामीले उसलाई जाने बाटो किन बन्द गरिदिएका थियौँ?”
आफ्नो आवाज उठाउनुस्। चुप लाग्नु भनेको अर्को धोकालाई निम्तो दिनु हो र समाजमा अप्रिय दुर्घटना हुनु हो। किनकि सम्बन्ध टिकाउने जिम्मेवारी पीडितको एक्लैको होइन। सम्बन्ध टिकाउनु छ भने इमान्दारिताले टिक्छ, डर र बाध्यताले होइन। यो मन्दिरजस्तै हो; भित्र पस्ने दुवै जनाले इमान्दारिताको फूल चढाउनुपर्छ। यदि एक जनाले त्यही मन्दिरको ढुङ्गा चोर्यो भने त्यो मन्दिर भत्किन्छ। त्यसैले विवाह टिकाउने कुरा कागजले होइन, दैनिक व्यवहारले गर्छ। जुन मनले शंका गरेको छ, त्यसले कहिल्यै झुट बोल्दैन; र जुन समाजले त्यो आवाज थुन्छ, त्यसले कहिल्यै प्रगति गर्दैन।
(उनी समाजशास्त्रको विद्यार्थी हुन्)








The APK works perfectly on my Android phone. No lags and the gameplay is seamless. Great job on phlwinapk.
The most professional betting site I have come across. Everything is transparent and the payouts are prompt. Trust maxbetonline for your gaming needs.