मुख्यमन्त्री थापा मगरद्वारा विश्वासको मत हासिल, विपक्षीद्वारा बैठक बहिष्कार

132 पटक पढिएको

९ भाद्र २०८३, मंगलवार २०:५० सम्पादक: धादिङ न्यूज

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री नियुक्त भएपछि सिर्जित राजनीतिक अन्योलका बिच मङ्गलबार बसेको प्रदेशसभा बैठकमा उहाँले सरकार टिकाउन आवश्यक ५३ मतभन्दा बढी अर्थात् उपस्थित सबै ५७ सांसदको समर्थन हासिल गर्नुभएको हो।

१०४ सदस्यीय प्रदेशसभामा विपक्षी दलहरूले बैठक नै बहिष्कार गरेपछि मत विभाजन प्रक्रियामा ५७ जना सांसद मात्र सहभागी थिए। मुख्यमन्त्री थापा मगरलाई सत्ता साझेदार दलहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६, नेकपा एमालेका २५ (उपसभामुखसहित) र राप्रपाका ६ जना सांसदले मतदान गरेपछि प्रस्तावको विपक्ष र तटस्थमा शून्य मत परेको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ३६, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद बैठकमा अनुपस्थित रहेका थिए भने सत्तारुढ राप्रपाका पनि ११ मध्ये ५ सांसद मतदानमा सहभागी भएनन्। विपक्षीको बहिस्कारका बिच मुख्यमन्त्रीले संवैधानिक बहुमत सिद्ध गर्दै तत्कालका लागि सरकार जोगाउन सफल भए पनि आधा सांसदको मात्र उपस्थितिमा भएको यस एकतर्फी मतदानले सरकारको राजनीतिक स्वीकार्यता र भावी संसदीय यात्रामा नयाँ चुनौती खडा गरेको छ।