गल्छी गाउँपालिकामा आशिका तामाङको ‘स्टन्ट’ बारे गजेन्द्र थपलियाको खुलासा: “वास्तविकता तोडमोड गरी सामाजिक सञ्जालमा भ्रम फैलाइयो”
154 पटक पढिएको
धादिङ। धादिङको गल्छी गाउँपालिकामा बाढीपीडितको राहत वितरणका क्रममा वडा अध्यक्ष र सांसद आशिका तामाङबीच विवाद भएको भनिएको भिडियो भाइरल भएपछि उक्त घटनाको वास्तविक तथ्य बाहिर आएको छ। नेकपा एमालेका युवा नेता एवम् नेपाल बौद्धिक परिषदका अध्यक्ष गजेन्द्र थपलियाले सो घटनालाई सांसद तामाङले नियतवश तोडमोड गरी सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोप लगाएका छन्।
सांसद तामाङले सार्वजनिक गरेको भिडियोमा वास्तविक छलफलका मुख्य अंशहरू काटेर जनप्रतिनिधिलाई दोषी देखाउने र विवादित भाग मात्र सम्पादन गरी सञ्जालमा भाइरल बनाइएको थपलियाको दाबी छ।
थपलियाका अनुसार भदौ १३ गते बिहान ११:०० देखि ११:३० बजेको समयमा बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न थपलियाको टोली गल्छी गाउँपालिका पुगेका थिए। टोलीमा संघीय सांसद डा. पुष्प कँडेल, जिल्ला समन्वय समितिका पूर्व प्रमुख जगन्नाथ नेपाल, समाजसेवी नरेश खतिवडा र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामेश्वर कार्की संलग्न थिए।
गाउँपालिका परिसर बाहिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङ र उनका स्वकीय सचिव (पीए) इन्जिनियर दिलीप उप्रेतीको टोलीसँग भेट भएको थियो। पहिले नै पालिकामा छलफल चलिरहेकाले टोली पुगेपछि गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरू बैठकबाट बाहिरिएर अध्यक्षको कार्यकक्षमा संवादका लागि एकत्रित भएका थिए।
अध्यक्षको कार्यकक्षमा प्रवेश गरेलगत्तै सांसद तामाङ जनप्रतिनिधिहरूमाथि हप्काउने र धप्काउने शैलीमा प्रस्तुत भएको थपलियाले बताए। छलफलका क्रममा सांसद तामाङका स्वकीय सचिव दिलीप उप्रेती स्वयंले गजुरीस्थित सेनाको ब्यारेक तथा प्रहरी चौकीमा राहत सामग्री आइपुगेको र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिएको जानकारी दिएका थिए।
दुवै सांसदको उपस्थितिमा उक्त राहत सामग्री गाउँपालिकालाई हस्तान्तरण गरी पालिकाकै एकद्वार प्रणालीमार्फत बाढीपीडितसम्म पुर्याउने विषयमा सबैको सहमति जुटेको थियो। सो विषयमा रास्वपा गल्छीका सभापति कुमार रिमालले समेत सकारात्मक धारणा राखेका थिए। गाउँपालिकाले भदौ १० गते नै निर्णय गरी प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद राहत वितरण कार्य भइरहेको र त्यसको तथ्याङ्क दुवै सांसदलाई उपलब्ध गराइसकेको स्थिति थियो।
सबै विषयमा सकारात्मक संवाद भइरहेकै समयमा सांसद तामाङ एक्कासि उत्तेजित भई मोबाइलबाट भिडियो रेकर्ड गर्न थालेपछि बैठकको वातावरण बिग्रिएको थपलियाले खुलाए।
“उहाँका पीए दिलीप उप्रेतीले बैठकमा बोलेको वास्तविक भिडियो बाहिर ल्याइयोस्। राहत पालिकाका लागि आएको हो कि होइन भन्ने कुरा उहाँले नै बोलेको स्पष्ट छ,” थपलियाले भने, “सांसद तामाङले वास्तविक कुरा लुकाएर आफू अनुकूल काटकुट पारिएको भिडियो सार्वजनिक गर्नुभयो। तर अन्तिमतिर हाम्रो टोलीले खिचेको भिडियोबाट सबै सत्य बाहिर आइसकेको छ।”
सांसद तामाङ बाहिरिएलगत्तै धादिङका प्रमुख जिल्ला अधिकारी आफ्नो टोलीसहित गाउँपालिका पुगेर वस्तुस्थितिबारे जानकारी लिनु भएको थियो ।
अहोरात्र बाढीपीडितको उद्धार र राहतमा खटिएका स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको मनोबल गिराउने गरी सामाजिक सञ्जालमार्फत देश-विदेशमा भ्रम छर्नु गैरजिम्मेवारपन भएको थपलियाको भनाइ छ।
“वास्तविक कुरालाई तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास पीडित र जनताप्रतिको धोका हो,” थपलियाले चुनौती दिँदै भने, “यदि आफ्नो दाबीमा सत्यता छ भने सांसद तामाङको टोली प्रत्यक्ष लाइभ प्रसारणमार्फत जनतासामु सम्पूर्ण तथ्य राख्न आओस्, म खुला बहसका लागि तयार छु। सामाजिक सञ्जालमा स्टन्ट बन्द गरौँ, पीडित जनताको वास्तविक सेवामा लागौँ।”








Love the bonuses they give to new players. It really helps to get started without risking too much of my own cash. Great vibes at kaviar88slot