भोटेकोसीको बाढीमा परेका धादिङका १० जनाको दाहसंस्कार

63 पटक पढिएको

१७ भाद्र २०८३, बुधबार २१:२० सम्पादक: धादिङ न्यूज

धादिङ । गोसाइँकुण्डको दर्शनका लागि हिँडेका धादिङका तीर्थयात्री  भोटेकोशी बाढीको चपेटामा परेर ठूलो दुःखद घटना भएको छ। भदौ १० गते बिहान धादिङबेसीबाट उत्साहका साथ यात्रामा निस्किएका १४ दम्पतीसहित ३० जना यात्रुमध्ये अहिलेसम्म १० जनाको शव पहिचान भई दाहसंस्कार भइसकेको छ भने अन्यको खोजी जारी छ।

यसअघि एउटै बसमा सवार २६ जनामध्ये नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा अर्याल लम्साल र रामचन्द्र खनालको शव पहिचानपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो। नीलकण्ठ–९ की गायत्री लम्सालको धादिङबेसीस्थित आँसीखोला दोभानमा तथा सिद्धलेक–१ का हरिप्रसाद सिलवाल र बिन्दादेवी सिलवालको च्याडुदोभानमा अन्त्येष्टि गरिएको छ। सिद्धलेककै घनश्याम भट्ट र कल्पना भट्ट दनैको शव पनि काठमाडौंमै पहिचान भई दाहसंस्कार गरिएको थियो।

यसैबीच  नीलकण्ठ नगरपालिका–३, पुछारबजार निवासी तुलसी तिमल्सिना र ईश्वरी तिमल्सिनाको परिवार तथा आफन्तजनको सल्लाह र धार्मिक परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। लामो समयसम्म खोजी गर्दा पनि शव फेला नपरेपछि परिवारले हिन्दू विधिअनुसार अन्त्येष्टिको प्रक्रिया पूरा गरेको हो।

दुर्घटनापछि अझै धेरैको अवस्था अज्ञात छ। नीलकण्ठ–१२ का ठाकुर लम्साल, शारदा लम्साल, रामशरण लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, भगवती खनाल तथा नीलकण्ठ–९ का शिवहरि लम्साल, नारायणप्रसाद लम्साल र सीता लम्साल अझै बेपत्ता छन्। त्यसैगरी, नीलकण्ठ–३ का राजन लम्साल, न्याउरी लम्साल, सीता तिवारी र बस चालक छबिलाल श्रेष्ठको पनि कुनै अत्तोपत्तो पाउन सकिएको छैन। काठमाडौंबाट अर्कै बसमा गोसाइँकुण्ड हिँडेका नीलकण्ठ-९ का  सीताराम सुवेदीसहित उहाँका परिवारका चार जनाको अवस्था पनि अझै अन्योलमा छ।

भदौ १० गते बिहान धादिङबेसीबाट निस्किएको टोली वेत्रावती पुगेपछि एक्कासि बाढीमा परेर सम्पर्कविहीन बनेको थियो। भदौ ११ गते बेलुकीसम्म धादिङका विभिन्न पालिकाबाट कुल ९६ जना मानिसहरू सम्पर्कमा नरहेको भन्दै स्थानीय तहहरूले खोजतलासका लागि आग्रह गरेका थिए। धार्मिक यात्रामा निस्किएका आफन्तहरूको यस्तो दुःखद समाचारले धादिङका गाउँबस्तीहरू यतिबेला गहिरो शोकमा डुबेका छन्।