रसुवा बाढी-पहिरोमा परी नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, भदौ १८ गते नीलकण्ठ नगरपालिकामा सार्वजनिक बिदा

111 पटक पढिएको

१७ भाद्र २०८३, बुधबार २१:५२ सम्पादक: धादिङ न्यूज

धादिङ । चीन–नेपाल सीमा क्षेत्रबाट रसुवा हुँदै आएको विनाशकारी बाढी–पहिरोका कारण नीलकण्ठ नगरपालिकाका ३८ जना नागरिक बेपत्ता भएकोमा हालसम्म २९ जनाको मृत्यु पुष्टि भएको छ। तीर्थयात्रा, जागीर, व्यवसाय तथा ट्रेकिङका क्रममा रसुवा पुगेका नगरवासीहरूको निधनको खबरले नीलकण्ठ नगरपालिका स्तब्ध बनेको छ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले शोक विज्ञप्ति जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

नगरपालिकाले विपद्मा परेका नगरवासीहरूको खोज तथा उद्धारका साथै मृतकहरूको अन्तिम संस्कारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ। यस राष्ट्रिय शोकको घडीमा नगरपालिकाले मिति २०८३ भदौ १८ गते बिहीबारका दिन नीलकण्ठ नगरपालिका र मातहतका सम्पूर्ण कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मृतक नगरवासीहरूको १३औँ दिनको पुण्यतिथि (भदौ २२ गते) का दिन दिउँसो २ बजे सिटीहलमा श्रद्धाञ्जली सभा र साँझ ६ बजे नीलकण्ठ–३ पुछारबजारमा दीप प्रज्वलन कार्यक्रम तय गरिएको छ। नगरपालिकाले यो कठिन परिस्थितिमा सम्पूर्ण नगरवासीलाई धैर्य धारण गर्न र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरेको छ।