त्रिशूलीको अकल्पनीय बाढीले बगर बन्यो महेशदोभान र ऐतिहासिक अम्लेश्वर मन्दिर

124 पटक पढिएको

१८ भाद्र २०८३, बिहीबार १०:०९ सम्पादक: धादिङ न्यूज

केशव अधिकारी/ धादिङ न्यूज

धादिङ, १८ भदौ । गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय थलो महेशदोभान क्षेत्रमा भदौ १० गते बुधबार बिहानसम्म सदाझैँ चहलपहल थियो। बजारवासी आफ्नो नियमित दिनचर्या सुरु गर्दै थिए। व्यापार-व्यवसायमा व्यस्त हुने तयारी भइरहेको थियो भने मन्दिरमा पूजापाठ गर्न आउनेहरू र प्रात:कालीन व्यायाम गर्नेहरूको उपस्थिति बाक्लो थियो। चौतारीको छेउमा सुस्ताएर रमाइला गफ गर्ने बुढापाकाहरू गफिँदै थिए भने मन्दिर छेउको मनोरम वातावरणमा रमाउनेहरू आफ्नै धुनमा थिए।

त्रिशूली नदीको सतहबाट झण्डै ५० फिट माथि रहेको यस मन्दिर क्षेत्रमा इतिहासमै यसअघि यस्तो विनाशकारी बाढी आएको स्थानीय बुढापाकालाई समेत याद छैन। विगतका वर्षहरूमा छेउछाउमा भल पसे पनि यसरी मन्दिर नै बगाउने गरी बाढी कहिल्यै आएको थिएन। तर, एकाएक आएको बाढीले केहीबेरमै बजारको परिचित स्वरूप बदलिदियो। मन्दिर क्षेत्रबाट पसेर करिब १ किलोमिटर माथिसम्म क्षति पुर्‍याएको यस बाढीले एक निमेषमै सम्पूर्ण क्षेत्रलाई खण्डहरजस्तै बनाइदिएको छ।

बाढीपछि अहिले बजारका  केही घरहरू ठिङ्ग उभिएका छन्। ती घरहरू उभिएको जमिनमा अहिले बालुवा र हिलोको बाक्लो लेदो थुप्रिएको छ। बाढीको तीव्र वेगले घर तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको छ भने बजार क्षेत्रको सम्पूर्ण भौतिक अवस्था क्षतविक्षत् बनेको छ। मानिसको आवतजावत, व्यापारिक गतिविधि र चहलपहलले भरिने महेशदोभानका अधिकांश घरहरू भत्किएका छन्। बाँकी रहेका घरहरू पनि हिलोले पुरिएर कामै नलाग्ने अवस्थामा पुगेका छन्। सडक, घर तथा संरचनामा पुगेको व्यापक क्षतिले गर्दा यो क्षेत्र पुरानै स्वरूपमा तत्काल फर्किने सम्भावना देखिँदैन।

बजारसँगै बग्ने त्रिशूली नदी भने बिस्तारै आफ्नो पुरानै बहावमा फर्किन थालेको छ। नदीको पानी घट्दै गए पनि त्यसले छाडेर गएको विनाशको दृश्य भने झनै प्रस्ट र दर्दनाक बन्दै गएको छ। त्रिशूली नदी सामान्य अवस्थामा फर्किए पनि महेशदोभान भने अब पुरानो अवस्थामा रहेन। बाढीले बजारको भौतिक संरचना मात्र होइन, यहाँका व्यवसायी र स्थानीय बासिन्दाको वर्षौँको मेहनत, लगानी र दैनिकीसमेत एकैछिनमा तहसनहस बनाइदिएको छ।

काठमाडौँबाट करिब ५० किलोमिटरको दुरीमा रहेको महेशदोभान क्षेत्र केवल व्यापारिक केन्द्र मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यहाँस्थित अम्लेश्वर महादेव मन्दिर परिसर केही वर्ष अघिसम्म चलचित्र सुटिङ, पिकनिक स्पट र त्रिशूली नदीमा जलयात्रा (र्‍याफ्टिङ) को प्रस्थान विन्दुका रूपमा प्रयोग हुने गर्दथ्यो। हरेक वर्ष जनै पूर्णिमा, हरितालिका तीज, ऋषि पञ्चमी, ठूलो एकादशी र शिवरात्री जस्ता पर्वहरूमा यहाँ भव्य मेला लाग्ने गर्दथ्यो। पछिल्लो समय मन्दिर नजिकै गल्छी गाउँपालिकाको प्रशासकीय भवन सञ्चालनमा आएपछि  आन्तरिक पर्यटकको चहलपहल झनै बढेको थियो। पूर्वाधार विकाससँगै यो मन्दिर सिङ्गो गाउँपालिकाकै प्रमुख पहिचान र चिनारीका रूपमा स्थापित हुँदै गएको थियो।

पृथ्वीराजमार्ग र त्रिशूली नदीको किनारमा रहेको यस मन्दिरको स्थापना कहिले भएको हो भन्ने स्पष्ट तिथि-मिति नभेटिए पनि यससँग अनेकौँ ऐतिहासिक तथा पौराणिक किंवदन्तीहरू जोडिएका छन्। विक्रम संवत् १९२२ सम्म महेशखोला अहिलेको पृथ्वी राजमार्गको किनारै किनार भएर बैरेनी बजार हुँदै अम्लेश्वर महादेव मन्दिर नजिकै आएर त्रिशूली नदीमा मिल्ने भएकाले यस ठाउँको नाम ‘महेशदोभान’ रहन गएको इतिहास छ। पछि विक्रम संवत् १९२२ मा ठूला-ठूला चट्टान काटेर महेशखोलालाई अहिलेको गल्छी बजार रहेको ठाउँबाट त्रिशूली नदीमा मिसाइएको थियो।

यस मन्दिरको उत्पत्तिबारे पृथ्वीनारायण शाह नुवाकोट विजयपछि गोरखा फर्कने क्रममा त्रिशूली किनारको चौतारामा बास बस्दा सपनामा महादेवले थप विजयको आशीर्वाद दिएकाले शाहले नै मन्दिर निर्माण गर्न लगाएको जनविश्वास छ। अर्को किंवदन्ती अनुसार स्थानीय कँडेल परिवारले डाँडागाउँमा धान थुपारेर बसेको बेला सुरुमा बाघ देखा परेको, पछि त्यो साँढेमा परिणत भएको र अन्ततः जोगीको भेष धारण गरी त्रिशूलीको भुमरीमा अलप भएपछि कँडेल परिवारले शिवको रूपमा पूजाआजा सुरु गरी शिला स्थापना गरेका थिए। कँडेल परिवारले पूजापाठ चलाउन कुमाइ सिम्लेमा ६० मुरी माटो बिर्ता बनाएर काम चलाउँदै आएकामा विक्रम संवत् १९६० मा चन्द्र शमशेरले सो जग्गा हरण गरिदिएका थिए। पछि तत्कालीन कर्णेल प्रताप सिंह राणाले मन्दिरको नाममा गुठी राख्न सो जग्गा फिर्ता गराएपछि मन्दिरको व्यवस्थित स्थापना भएको भनाइ छ।

विनाशकारी बाढीले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको अम्लेश्वर महादेव मन्दिरको नामनिसानै नरहने गरी बगाएपछि सिङ्गो मन्दिर परिसर अहिले बगर र खण्डहरमा बदलिएको छ। मन्दिरको अस्तित्व नै मेटिने गरी क्षति पुगेपछि अहिले यसको मौलिक पहिचान जोगाउन नसकिने अबस्था भएको छ ।