सदरमुकाम जोड्ने फुर्केखोलामा तत्काल बेलिब्रिज नबन्ने, धादिङबासीको सास्ती कायमै रहने

93 पटक पढिएको

१९ भाद्र २०८३, शुक्रबार १६:२० सम्पादक: धादिङ न्यूज

काठमाडौँ — गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका गरी ४१ वटा पक्की पुलमा क्षति पुगेको छ। तीमध्ये ३५ वटा पुल पूर्ण रूपमा बगेका छन् भने ४० किलोमिटर सडक खण्ड ध्वस्त बनेको छ। बाढीले नेपाल-चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढी-केरुङ जोड्ने सडक विच्छेद हुनुका साथै त्रिशूली नदीवारि र पारिका क्षेत्रहरूको सम्पर्क टुटेको छ।

बाढीका कारण धादिङ जिल्लाको मुख्य प्रशासनिक केन्द्र प्रवेश गर्ने फुर्केखोलाको पुलका साथै घाटबेसी, गलौंदी, बैरेनी र फोस्टारका पक्की पुलहरू बगेका छन्। फुर्केखोलाको पुल बगेपछि सदरमुकाम धादिङबेसीबाट पृथ्वीराजमार्ग निस्कन र राजमार्गबाट सिधै सदरमुकाम पुग्न सर्वसाधारण तथा सवारी साधनलाई निकै कठिनाई भइरहेको छ। तर, फुर्केखोलामा तत्काल बेलिब्रिज निर्माण हुने आशमा बसेका धादिङबासीलाई सडक विभागको पछिल्लो निर्णयले निराश बनाएको छ। सडक विभागका महानिर्देशक विजय जैसीले फुर्केखोलामा तत्काल बेलिब्रिज जडान गर्न सम्भव नरहेको बताएका छन्। विभागले फुर्केखोलालाई तत्काल प्राथमिकतामा नराखेपछि धादिङका बासिन्दाले सदरमुकाम आउजाउ गर्न र उपभोग्य सामग्री ओसारपसार गर्न अझै केही समय सास्ती खेप्नुपर्ने भएको छ।

भौतिक क्षतिको आठ दिनपछि सडक विभागले अन्य स्थानमा भने आकस्मिक यातायात पुनःस्थापनाका लागि बेलिब्रिज जडान प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा नुवाकोटका देवीघाट, त्रिशूली बजार र वेत्रावतीमा बेलिब्रिज राख्ने योजना छ। महानिर्देशक जैसीका अनुसार देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत ६० मिटरको बेलिब्रिज जडान कार्य सुरु भइसकेको छ। आवश्यक उपकरण गजुरीबाट पठाइसकिएको र एक हप्ताभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिए।

विभागसँग हाल ५० मिटरसम्म स्पान भएका ११ वटा मात्रै बेलिब्रिज उपलब्ध छन्। लामो स्पानका बेलिब्रिजको अभाव र फाउन्डेसन तथा ग्याबिन संरचना निर्माण गर्नुपर्ने भएकाले सबै स्थानमा तत्काल पुल राख्न सहज छैन। वेत्रावतीमा सडक अवरुद्ध भएकाले पूर्वाधार मिलाएर मात्र बेलिब्रिज राखिनेछ भने त्रिशूलीमा नदीको चौडाइ १२० मिटर रहेकाले तत्कालका लागि झोलुंगे पुल हाल्ने विषयमा छलफल भइरहेको छ।

यस्तो अप्ठ्यारो परिस्थिति सम्बोधन गर्न नेपाल सरकारले भारतसँग ७ र चीनसँग ३० वटा बेलिब्रिज माग गरेको छ। भारतबाट आउने क्रममा रहेका ७० मिटर स्पानका बेलिब्रिज आएपछि थप स्थानमा यातायात सञ्चालन गर्न सहज हुने विभागले जनाएको छ।