भोटेकोशीको बाढीले खानेपानीमा ६४ करोडको क्षति: चार जिल्लाका ५५ आयोजना प्रभावित

52 पटक पढिएको

२१ भाद्र २०८३, आईतवार ०७:२३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण चार जिल्लाका ५५ वटा खानेपानी आयोजना क्षतिग्रस्त भएका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार प्रारम्भिक अनुमानमा करिब ६४ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

बाढीबाट सबैभन्दा बढी नोक्सानी नुवाकोटमा भएको छ, जहाँ २२ वटा आयोजनामा ४ करोड ११ लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। यस्तै, धादिङका २०, रसुवाका ८ र गोरखाका ५ वटा खानेपानी आयोजना प्रभावित भएको विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिए।

सङ्कटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति सुचारु गर्न विभागले १०० केभीए क्षमताको डिजेल जेनेरेटर र पम्पहरूमार्फत दैनिक लाखौँ लिटर पानी वितरण सुरु गरेको छ। साथै, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को सहयोगमा ट्याङ्करमार्फत प्रभावित बस्तीहरूमा आपत्कालीन जल आपूर्ति भइरहेको छ।

गल्छी, गजुरी, बेलकोटगढी र त्रिशूली बजारलगायतका क्षेत्रमा सेवा विस्तारका लागि १४ वटा पम्प र ४१.१ किलोमिटर एचडीपीइ पाइप परिचालन गरिएको विभागले जनाएको छ।