त्रिशूलीको कटानले कृष्णभिरमा देखायो २० वर्ष पुरानो रूप: भदौ मसान्तभित्र बाटो खोल्न १० मेसिन र ३० जनशक्ति परिचालन (भिडियो सहित)
63 पटक पढिएको
केशव अधिकारी
कृष्णभिर (धादिङ), २६ भदौ। राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत पर्ने बहुचर्चित कृष्णभिरको पहिरोले दुई दशक पछि फेरि बल्झने संकेत देखाएको छ। त्रिशूली नदीको तीव्र कटानका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ मा पर्ने कृष्णभिर क्षेत्रमा सडकको तल्लो भाग भास्सिएपछि भदौ १४ गते देखि कृष्णभिरमा सडक अवरुद्ध हुन पुगेको छ ।
भदौ १० गतेको भोटकोशी बाढीका कारण कृष्णभिर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते आएको बाढीले सडक भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो। त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनपछि कृष्णभिरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकताका साथ अघि बढाउने सुझाव दिइएको थियो। सरकारले सोही प्राविधिक सुझावका आधारमा निर्माण कार्य अघि बढाएको हो। निर्माण कार्य निर्धारित समयमै सम्पन्न भए पृथ्वी राजमार्गको उक्त खण्डमा भदौ मसान्तभित्रै यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
कृष्णभिरमा अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ। कृष्णभिरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। निर्माण क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले फ्लडलाइट जडान गरिदिएपछि रातको समयमा समेत काम भइरहेको छ भने हाल दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य भइरहेको जनाइएको छ। नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै भागमा काम भइरहेको छ।
विसं २०५५ देखि २०६१ सालसम्म कृष्णभिरले यात्रुहरूलाई दिएको दुःख र सास्ती नेपाली यातायात इतिहासको एउटा पीडादायी अध्याय हो। वैकल्पिक मार्गहरूको अभाव रहेको र मनसुन सुरु हुनेबित्तिकै पहिरो खसिहाल्ने समस्याका कारण त्यतिबेला मुग्लिन–नागढुंगाको यात्रा अत्यन्त जोखिमपूर्ण थियो। इतिहास पल्टाउँदा, २०५७ साल साउन २७ गते कृष्णभिरमा ८०० मिटर जमिनमा विचलन आएर २३० मिटर उचाइ र २०० मिटर चौडाइको विशाल पहिरो खसेको थियो। त्यतिबेला पृथ्वी राजमार्ग ११ दिनसम्म पूर्ण रूपमा अवरुद्ध बनेको थियो भने सडकमा २२ मिटरभन्दा बढी लेदो थुप्रिएको थियो।
त्यसबेलाको कहालीलाग्दो अवस्था सम्झँदै चरौदीबजारका स्थानीय शिक्षक रमेश छत्कुली भन्छन्, “राजमार्गमा अहिले जस्तो बाक्लो बस्ती र होटलहरू थिएनन्। पैसा हुने यात्रुहरू पनि हप्तौंसम्म भोकभोकै बस्ने र कतिपयको विचल्ली हुने अवस्था बनेको थियो।” पहिरोमा फसेर खान नपाएका यात्रुहरूका लागि स्थानीय मुनलाइट युवा क्लबले २० रुपैयाँमै दालभातको मेस सञ्चालन गरेको र कतिपयले निःशुल्क भोजन गराएको छत्कुली स्मरण गर्छन्। कृष्णभिरकै पहिरोले केही समय त्रिशूली नदीसमेत थुनिएको स्थानीय बताउँछन्।
त्यस्तो विकराल समस्यालाई समाधान गर्न सडक विभागका तत्कालीन इन्जिनियर नरेशमान शाक्यको नेतृत्वमा जिओ टेक्निकल र बायो इन्जिनियरिङ प्रविधिको संयुक्त प्रयोग गरिएको थियो। त्रिशूली नदी किनारबाटै पर्खाल उठाउँदै, ग्याविन जाली भर्दै र माथिल्लो भागमा अम्रिसो, बाँस, बकाइनो र खयरजस्ता छिटो हुर्कने बोटविरुवा रोपेर पहिरो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। करिब चार वर्षको प्रयास र साढे तीन करोड रुपियाँको लागतमा गरिएको यो कार्य नेपालमै पहिरो नियन्त्रणको एक उत्कृष्ट नमुना मानिएको थियो। पछिल्लो २० वर्षसम्म यो क्षेत्रमा कुनै ठूलो पहिरो गएको थिएन र मानिसहरूले यसलाई लगभग बिर्सिसकेका थिए।
तर, पछिल्लो समय पुनः देखिएका विभिन्न भूवैज्ञानिक तथा मानवीय कारणहरूले कृष्णभिरमा खतराको घण्टी बजाएको छ। २०७० सालतिरै यसको तल्लो भाग कमजोर हुन थालेको संकेत देखिए पनि बेवास्ता गरिएको थियो। खानी तथा भूगर्भ विभागबाट अध्ययनका लागि आएका भूगर्भविदहरूका अनुसार बाढीले सडक र पहिरो सुरक्षाका लागि बनाइएका पर्खालहरू भत्काएको छ। यस क्षेत्रको भूबनोट प्राकृतिक रूपमै पत्रपत्र पर्ने कमजोर चट्टान (सिस्ट, फाइलाइट र क्वार्जाइट) तथा माटो र गेग्रानको सम्मिश्रणले बनेको हुँदा यो अति संवेदनशील छ।
विशेषज्ञहरूका अनुसार त्रिशूली नदीको भँगालो सडक भएको भागतिर सोझिनु, नदीको तीव्र कटान, नागढुंगा–मुग्लिङ सडक विस्तारका क्रममा गरिएका खन्ने कार्य र भारी सवारीसाधनको निरन्तर कम्पनले पहाडी भित्तोलाई थप कमजोर बनाएको छ। लामो समयसम्म निर्माण गरिएका संरचनाहरूको नियमित मर्मतसम्भार र रेखदेख नहुँदा २० वर्षअघिको घाउ फेरि बल्झिएको छ। मुख्य पहिरो क्षेत्रभन्दा दायाँबायाँ साना–साना पहिरोहरू खस्न थालेपछि स्थानीय बासिन्दा र दैनिक यात्रा गर्ने यात्रुहरूमा त्रास बढेको छ।
दुई दशकअघि ठूलो क्षति पुर्याएको कृष्णभिरले फेरि चेतावनी दिन थालेको यो अवस्थामा हाल युद्धस्तरमा भइरहेको स्थायी ट्रयाक निर्माण र दीर्घकालीन भूगर्भिक उपायले राजधानीको मुख्य जीवनरेखा मानिने यस राजमार्गमा यातायात सुचारु गराउन ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा ढुवानी प्रभावित बनेपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास लगायतका अत्यावश्यक वस्तुको आपूर्तिमा समेत असर परेको छ। व्यवसायीहरूले वैकल्पिक र घुमाउरो राजपथमार्फत ग्यास ढुवानी गर्न बाध्य हुनुपरेको गुनासो गरेका छन्। चाडपर्वका बेला सवारीसाधनको उच्च चापलाई मध्यनजर गर्दै हाल कृष्णभिर क्षेत्रमा २४ सै घण्टा प्रहरी परिचालन गरी सडक निर्माण कार्य भईरहेको छ ।







