भोटेकोसी बाढीले तहसनहस बनाएको बागेश्वरी माविको पठनपाठन वैकल्पिक भवनमा सुरु
77 पटक पढिएको
गल्छी (धादिङ) २६ भदौ । भोटेकोसी बाढीले भवनमा क्षति पुर्याएपछि बन्द भएको गल्छी गाउँपालिका–६ बैरेनीस्थित वागेश्वरी माध्यमिक विद्यालयको पठनपाठन वैकल्पिक भवनबाट सुरु भएको छ। महेशदोभानको अम्लेश्वर महादेव मन्दिर क्षेत्रबाट करिब १ किलोमिटर टाढा रहेको यस विद्यालय परिसरसम्म उर्लिएर आएको लेदोसहितको बाढीले विद्यालयको संरचनामा ठूलो क्षति पुर्याएपछि प्राविधिक धार सञ्चालनका लागि निर्माण गरिएको महेशदोभानस्थित नयाँ भवनबाट कक्षा सञ्चालन गरिएको हो।
भदौ १० गतेको बाढीले विद्यालयमा पुर्याएको क्षतिको विवरण अत्यन्तै दयनीय छ। विद्यालयकी प्रधानाध्यापक ज्ञानु थापाका अनुसार बाढीले बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत ४७५ जना विद्यार्थी प्रभावित भएका छन्। बाढीले विद्यालयका ५ वटा भवनका तल्लो तला पूर्ण रूपमा पुरेको छ।
बाढीले विद्यालयका अति महत्वपूर्ण भौतिक तथा शैक्षिक सामग्रीहरूमा भारी क्षति पुर्याएको छ। कम्प्युटर ल्याबमा रहेका १६ थान कम्प्युटर सेट, कम्प्युटर कुर्सी, डेस्क, प्रिन्टर, फोटोकपी मेसिन र ३ थान ल्यापटप पूर्ण रूपमा नष्ट भएका छन्। त्यसैगरी, विज्ञान ल्याबमा रहेका कक्षा १२ सम्मका जीवविज्ञान, रसायनविज्ञान र भौतिकविज्ञानका महँगा प्रयोगशाला सामग्री, दराज, टेबल र फर्निचर हिलोमा विलीन भएका छन्।
बाल कक्षासँगै रहेको नर्सरी कक्षाका साना बालबालिकाका शैक्षिक सामग्री, ५० थान चकटी, लो–टेबल, बेड तथा प्राथमिक उपचारका उपकरण र औषधिहरू पनि नासिएका छन्। खानेपानीतर्फ ३ थान मोटर, ट्याङ्की, १०० मिटर पाइप, १०० मिटर बिजुलीको तार र शौचालयहरूमा माटो पसेर सम्पूर्ण प्रणाली ठप्प भएको छ। साथै, क्यान्टिनका २ थान फ्रिज, सिलिन्डर, खाद्यान्न, २००० थान भाँडाकुँडा, स्टेसनरी, १ थान मोटरसाइकल, बालपार्क, इन्टरलक ब्लक र प्राङ्गणमा रहेको सरस्वती मन्दिरसमेत बाढीको चपेटामा परेर क्षतिग्रस्त बनेका छन्।
बाढी आउँदा ज्यान जोगाउन भागेका विद्यार्थीका झोला, किताब तथा कापीसमेत बगेका थिए। विद्यालयका ४१६ विद्यार्थीमध्ये ३०४ जनाको झोला, किताब र कापी डुबेका वा बगेका थिए। विभिन्न संघसंस्था तथा सहयोगीहरूको सहयोगमा पठनपाठन पुनः सञ्चालन गर्न केही सहज भएको छ। बाढीले १२ जना विद्यार्थी र ७ जना शिक्षकका घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएका छन्।
वैकल्पिक भवनमा कक्षा सुरु भए पनि विद्यालयले खानेपानीको अभाव, अपर्याप्त शौचालय, कक्षाकोठाको कमी, फर्निचरको अभाव, बिनाग्रिलका झ्यालहरू र इन्टरनेट सुविधा नहुने जस्ता समस्या भोगिरहेको छ। कम्प्युटर र विज्ञान प्रयोगशाला डुबेका कारण पठनपाठनमा बाधा पुगेको छ। त्यस्तै, विद्यालय पुग्ने बाटो क्षतिग्रस्त हुनु र नजिकै त्रिशूली नदी भएकाले सुरक्षाको जोखिम पनि उत्तिकै छ। परिसरमा जमेको हिलो हटाउन इन्टरलकिङ ब्लक र क्यान्टिनको आवश्यकता देखिएको छ।
बाढीले त्रिशूली नदीका पक्की तथा झोलुङ्गे पुल बगाएपछि नदीपारिका गल्छी–१ स्यालटार, मस्टार र डुम्रिचौरका विद्यार्थीहरूलाई विद्यालय आउन सास्ती भएको छ। जिन्टे–स्यालटार र महेशदोभान–मस्टारका पुल बगेपछि टाढाको बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण कतिपय विद्यार्थी नियमित विद्यालय आउन सकेका छैनन्।
कठिन परिस्थितिमा विद्यालयलाई पुनः सञ्चालनमा ल्याउन देशविदेशका संघसंस्था तथा विभिन्न सहयोगी मनहरूबाट महत्त्वपूर्ण सहयोग प्राप्त भएको छ। भोटेकोसी बाढीपछि बन्द हुन पुगेको विद्यालयलाई विभिन्न माध्यमबाट पुनः सुचारु गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी महानुभावहरूमा विद्यालयकी प्रधानाध्यापक ज्ञानु थापाले हार्दिक आभार व्यक्त गर्नुभएको छ।
अपार क्षति र असुविधाका बाबजुद पनि जोखिम मोल्दै विद्यार्थीहरू वैकल्पिक भवनमा फर्किएपछि बागेश्वरी माविको पठनपाठन भने पुनः लयमा फर्किन थालेको छ। विद्यालयलाई पूर्ण रूपमा पूर्ववत् अवस्थामा फर्काउन अझै धेरै सहयोग र सहकार्यको खाँचो रहेको छ।
बाढीले बागेश्वरी मावि मात्र नभई सोही क्षेत्रको अमलेश्वर गुरुकुल विद्यालयसमेत पूर्ण रूपमा नष्ट गरेको छ। २२ विद्यार्थी रहेको गुरुकुलमा बस्ने, पढ्ने र सुत्ने स्थानसहित सबै सामग्री नष्ट भएका छन्। समयमै सुरक्षित स्थानमा गएर विद्यार्थीले ज्यान बचाए पनि गुरुकुल पुनः सञ्चालनका लागि वडा अध्यक्ष दीपक कार्कीले उपयुक्त वैकल्पिक भवनको खोजी गरिरहनुभएको छ। तर, हालसम्म ठाउँ फेला नपर्दा गुरुकुलको पठनपाठन कहिले सुरु हुने भन्ने अनिश्चित बनेको छ।








I’ve noticed the variety, but remember, even with good features like those on shbest legit, reading the fine print on payouts is crucial. Don’t let the flashy graphics distract you from understanding the rules first!