भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग २० दिनपछि प्रधानमन्त्रीको छलफल सुरु

125 पटक पढिएको

२९ भाद्र २०८३, सोमबार १२:४० सम्पादक: धादिङ न्यूज

काठमाण्डौं । भोटेकोशीमा आएको बाढीले जनजीवन प्रभावित बनाएको २० दिनपछि प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल थालेका छन्। विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको यस बैठकमा बाढीपछिको अवस्था, हालको परिस्थिति, राहत तथा उद्धारका कार्य र आगामी पुनरुत्थानका योजनाहरूप्रति छलफल केन्द्रित गरिएको छ।

यस छलफलमा नुवाकोटका तर्फबाट सांसदहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछानेसहित विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्। त्यसैगरी, रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ र गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ (अनलाइनमार्फत) उपस्थित हुनुहुन्छ।

धादिङ जिल्लाबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) पनि छलफलमा सक्रिय रूपमा सहभागी छन्। यसबाहेक, तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (साकार) समेत यस विपद्कालीन समीक्षा बैठकमा सहभागी भएका छन्।