कृष्णभीरमा भोलि बिहानदेखि दुईतर्फी सवारी सञ्चालन हुँदै

44 पटक पढिएको

३१ भाद्र २०८३, बुधबार २१:०२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ-पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा बिहीबार बिहानदेखि दुईतर्फी सवारीसाधन सञ्चालन हुने भएको छ। बाढीका कारण सडकको भित्ता कटान भएर पहिरो गएपछि अवरुद्ध बनेको सडकभन्दा केही माथिबाट नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनको व्यवस्था मिलाइएको हो।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण सडकको भित्ता कटान भएपछि कृष्णभीरमा ठूलो पहिरो गएको थियो। त्यसपछि पहिरो गएको स्थानभन्दा माथिबाट करिब २ सय ७० मिटर नयाँ ट्र्याक खोलिएको र ग्राभेल गरेर सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइएको सडक विभागले जनाएको छ।

नयाँ ट्र्याकमा आइतबारदेखि परीक्षणका रूपमा ग्यास बुलेट तथा पहिरोका कारण रोकिएका ट्रक सञ्चालन हुँदै आएका छन्। परीक्षण सफल भएपछि बिहीबार बिहान ६ बजेदेखि सबै प्रकारका सवारीसाधनलाई दुईतर्फी रूपमा सञ्चालन गर्न दिने तयारी गरिएको हो।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले कृष्णभीरमा दुवैतर्फबाट यातायात सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार बाढीपहिरोपछि उत्पन्न समस्या समाधान गर्न भूगर्भविद्, जियोटेक्निकल विज्ञ तथा सडक निर्माणमा अनुभवी प्राविधिकसँग आकस्मिक छलफल गरी तत्काल आधारभूत डिजाइन तयार पारिएको थियो।

विभागले उपलब्ध स्रोतसाधन परिचालन गरी निरन्तर सात दिन काम गरेपछि सडकलाई यातायात सञ्चालन गर्न सकिने अवस्थामा पुर्‍याएको जैसीले बताए।

उनका अनुसार पछिल्लो बाढीपहिरो असाधारण स्तरको विपद् थियो। यसको प्रभाव पृथ्वी राजमार्गसँगै गल्छी–बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकमा समेत परेको छ।

‘बाढी आएको पहिलो दिन ठूलो क्षति देखिएको थिएन,’ जैसीले भने, ‘तर दोस्रो र तेस्रो दिन खोलाले सडकतर्फ कटान गर्न थालेपछि कृष्णभीरलगायत विभिन्न स्थानमा समस्या देखिन थाल्यो।’

कृष्णभीरमा यसअघि पनि पहिरोको समस्या देखिँदै आएको उल्लेख गर्दै उनले पुरानो सपोर्टिङ टो–वाल खोलाले बगाएपछि यसपटक थप जोखिम सिर्जना भएको बताए।

बाढीपहिरोपछि पृथ्वी राजमार्गको दीर्घकालीन अलाइनमेन्ट परिवर्तन गर्नुपर्ने अवस्था नरहेको महानिर्देशक जैसीले बताए। यद्यपि पछिल्लो विपद्ले वैकल्पिक सडकको आवश्यकता थप स्पष्ट पारेको भन्दै उनले वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिइने बताए।

कृष्णभीरमा भविष्यमा पनि पहिरोको जोखिम रहन सक्ने भएकाले वैकल्पिक सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाइने विभागको भनाइ छ।

सडक विभागले बेत्रावती हुँदै धुन्चे–स्याफ्रुबेँसी सडकलाई करिब दुई साताभित्र जोड्ने लक्ष्यसहित काम अघि बढाएको छ।

जैसीका अनुसार स्याफ्रुबेँसीपछि रसुवागढीसम्म सडक जोड्न स्याफ्रुबेँसीमा ल्याइने बेलीब्रिजसमेत प्रयोग गरिनेछ। बेत्रावतीमा बेलीब्रिज राख्ने तथा बेत्रावतीतर्फको ठूलो भीरमा भइरहेको काम सम्पन्न भएपछि रसुवातर्फको सडकलाई थप प्राथमिकताका साथ अघि बढाइने उनले बताए।

रसुवागढीतर्फको दीर्घकालीन सडक कुन तहबाट र कति लगानीमा निर्माण गर्ने भन्ने विषयमा प्राविधिक अध्ययन गरिने विभागले जनाएको छ। यसमा चीनसँगको सरकारको नीतिसमेत जोडिने जैसीले बताए।

वर्षाका कारण कृष्णभीरमा पुनः पहिरो जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले वैकल्पिक मार्गलाई तयारी अवस्थामा राख्ने भएको छ।

जैसीका अनुसार कान्ति लोकपथ, त्रिभुवन राजपथलगायत वैकल्पिक मार्गमा यसअघि देखिएका समस्या पहिचान गरी सुधारको काम अघि बढाइनेछ।

त्यस्तै, माझिटारबाट फुर्के खोलातर्फ हुँदै धादिङबेँसी जाने मार्ग, गल्छीबाट त्रिशूलीतर्फ जाने सडक तथा धुन्चेतर्फका अन्य वैकल्पिक मार्गलाई समेत प्राथमिकताका साथ सुधार तथा सञ्चालनयोग्य बनाइने विभागले जनाएको छ।

नयाँ ट्र्याक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गमा बाढीपहिरोका कारण देखिएको लामो समयदेखिको यातायात अवरोध हट्ने र यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ। तर नयाँ सडक पहिरो प्रभावित क्षेत्रभन्दा माथिबाट निर्माण गरिएकाले वर्षा तथा भू–क्षयको जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्वक सवारी सञ्चालन गर्नुपर्ने देखिएको छ।