एमाले सांसद जैनब खातुन र कर्णालीका पूर्वमन्त्री हिमबहादुर शाहीको निधन
7 पटक पढिएको
काठमाडौं, १ असोज – देशले दुई जना राजनीतिक व्यक्तित्व तथा जनप्रनिधिलाई गुमाएको छ। रौतहटबाट नेकपा एमालेकी समानुपातिक सांसद जैनब खातुन र कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको छुट्टाछुट्टै स्थानमा उपचारका क्रममा निधन भएको छ।
रौतहट क्षेत्र नम्बर ३ बाट मधेश प्रदेशसभामा नेकपा एमालेकी समानुपातिक सांसद रहनुभएकी जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उनलाई तत्काल उपचारका लागि वीरगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको उनका छोरा रौजन मियाँले जानकारी दिएका छन्। उनको आकस्मिक निधनले परिवारजन, आफन्त, पार्टीका नेता-कार्यकर्ता र स्थानीयवासीलाई गहिरो शोकमा डुबाएको छ।
त्यसैगरी, कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री एवम् नेपाली कांग्रेसका नेता हिमबहादुर शाहीको पनि निधन भएको छ। २००६ सालमा जन्मिनुभएका शाहीको बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँलाई अचानक हृदयाघात भएको थियो।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–बुडेली निवासी शाहीले २०३६ सालको जनमतसंग्रह र बहुदलीय व्यवस्था प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत राजनीति गर्दै विभिन्न समयमा नौ पटक पक्राउ परेका थिए। २०४६ सालको जनआन्दोलनमा ५१ दिन हिरासतसमेत बसेका उनी २०४९ मा जिविस दैलेखका सभापति र २०७४ सालमा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य बन्दै मन्त्री तथा प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका थिए। प्रदेशसभाको कार्यकाल पूरा भएपछि उनी गाउँमै बस्दै आएका थिए।
दुवै नेताहरूको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।







