आज केही स्थानमा मेघगर्जन र भारी वर्षाको सम्भावना
41 पटक पढिएको
काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ।
साथै उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
त्यस्तै आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको तराई भू-भागको थोरै स्थानमा, मधेश प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी र मधेश प्रदेशलगायत देशको हिमाली भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।







