एनआरएनए जापान र सेन्दाई क्षेत्रीय समितिको पहलमा गल्छी–८ का बाढी तथा पहिरो पीडितलाई राहत हस्तान्तरण
59 पटक पढिएको
धादिङ: गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् सेन्दाई तथा सम्बन्धित नेपाली समुदायको सक्रिय पहलमा संकलित बाढी तथा पहिरो पीडितका लागि राहत नगद सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
गल्छी गाउँपालिका–८ का बाढी तथा पहिरो प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि संकलित उक्त सहयोग रकम वितरण गरिएको छ। प्राप्त विवरण अनुसार बेपत्ता भएका ५ परिवारलाई जनही रु. ४०,००० का दरले, पूर्ण क्षति भएका ३ घरपरिवारलाई जनही रु. १,५०,००० का दरले राहत प्रदान गरिएको छ। त्यसैगरी, आंशिक क्षति भएका २ घरपरिवारलाई जनही रु. १२,००० का दरले र विस्थापित भएका २५ घरपरिवारलाई जनही रु. ७,००० का दरले नगद रकम वितरण गरिएको छ। यस राहत वितरण कार्य अन्तर्गत कुल रु. ४ लाख ४४ हजार नगद रकम पीडित परिवारहरूलाई हस्तान्तरण गरिएको हो।
संकटको यस घडीमा मानवीय भावना दर्शाउँदै सहयोग जुटाउने गैर आवासीय नेपाली संघ जापान, क्षेत्रीय समन्वय परिषद् सेन्दाईमा रहनुहुने गल्छी–८ नयाँगाउँ निवासी बुद्धिमान तामाङ, समन्वयकारी भूमिका निर्वाह गर्नुहुने गल्छी–८ निवासी सुमन तामाङ, तथा यस अभियानमा सहयोग गर्नुहुने बलबहादुर नेपाल, टोलप्रसाद सुवेदी र सक्षम नेपाल लगायत सम्पूर्ण सहयोगी नेपाली समुदायप्रति वडा कार्यालयको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ।
विपद्को यस दुःखद् समयमा देशविदेशबाट प्राप्त भएको साथ, सहयोग र समवेदनाले पीडित परिवारहरूलाई कठिन परिस्थितिबाट माथि उठ्न ठूलो हौसला प्रदान गरेको गल्छी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष विशाल लुङ्गेलि मगरले जानकारी दिनुभएको छ।







