राम शरण गिरीद्वारा क्षेत्रीय प्रतिनिधि पद त्याग,सिद्धलेक गाउँपालिका अध्यक्ष खतिवडा थप संकटमा

281 पटक पढिएको

१४ आश्विन २०८३, बुधबार ०७:४४ सम्पादक: धादिङ न्यूज

धादिङ, १४असोज – नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधि तथा सिद्धलेक गाउँपालिकाका निवर्तमान सभापति राम शरण गिरीले क्षेत्रीय प्रतिनिधि बाट राजीनामा दिनुभएको छ। गिरीले राजीनामा दिएसँगै सिद्धलेक कांग्रेसभित्र बढ्दै गएको आन्तरिक कलह सतहमा आएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियाअन्तर्गत सिद्धलेक गाउँपालिकामा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीभित्र  हलचल आएको छ। अधिवेशनबाट सभापतिमा भीम भट्ट, उपसभापतिमा सानु गिरी र सचिवमा सागर गुरुङ निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनको सरगर्मीका बीच नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधि तथा सिद्धलेक गाउँपालिकाका निवर्तमान सभापति राम शरण गिरीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। 

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पार्टीविरोधी तथा जनहितविपरीतका कार्य गरिरहेको भन्दै उनीमाथि अनुशासनको कारबाहीका लागि कांग्रेसभित्र आवाज उठिरहेको समयमा, अध्यक्ष खतिवडा निकट मानिने नेता गिरीको राजीनामालाई रहस्यमय रूपमा हेरिएको छ। १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा नेपाल तरुण दल धादिङका उपसभापति राधाकृष्ण भण्डारीसँग पराजित भएका खतिवडा पार्टीको कुनै लिखित जिम्मेवारी भने थिएन। अघिल्लो महाधिवेशनमा पराजयको अनुभव गरेका उनी १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी भएका थिएनन्। यसैगरी पालिका सभापति गिरी पनि पालिका अधिवेशनका दिन अनुपस्थित रहेको भन्दै विरोध भएको थियो।

गिरीले फेसबुकमार्फत सार्वजनिक गर्नुभएको राजीनामा पत्रमा व्यक्तिगत कारण देखाए पनि पछिल्लो समय गाउँपालिका अध्यक्ष खतिवडासँगको निकटताका कारण उहाँ पार्टीभित्र विवादमा रहनुभएको थियो। गत असार ३१ गते पार्टीको बैठक चलिरहेका बेला नेपाल तरुण दलका नेता विशाल गिरी र गाउँपालिका अध्यक्ष खतिवडाबीच विवाद भएको थियो। सो क्रममा विशाल गिरीले खतिवडालाई झापड हानेपछि, अध्यक्ष खतिवडाले प्रहरी शक्तिको दुरुपयोग गरी १६ दिनसम्म विशाल गिरीलाई थुनामा राख्नुका साथै गृहमन्त्रीलाई पत्र लेखी जसरी पनि फसाइदिन भनेका थिए। उक्त पत्र बाहिर आएपछि अध्यक्ष खतिवडा थप समस्यामा परेका छन् र सोही बेला उनीनिकट नेता रामशरण गिरीले पनि पार्टीको जिम्मेवारी छाडेको घोषणा गरेका हुन्।

अध्यक्ष खतिवडा पछिल्लो समय देउवा पक्षधर कांग्रेसको भेलामा देखिए पनि उनी कांग्रेस छाडेर अन्य दलमा प्रवेश गर्ने तयारी गरिरहेको कांग्रेसका नेताहरू बताउँछन्। त्यसो त, सिद्धलेक गाउँपालिकाको शिक्षा समिति सदस्यमा रहेका रामशरण गिरीले केही समयअघि गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले शिक्षकहरूको सरुवा गरेको भन्दै उक्त समितिको सदस्य पदबाट राजीनामा दिएको फेसबुकबाट घोषणा गरे पनि पछि समितिको बैठकमा सहभागी भएका थिए।

सिद्धलेक गाउँपालिका वडा नं. ७ निवासी गिरीले व्यक्तिगत परिस्थिति तथा आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अपेक्षा अनुसार निरन्तरता दिन नसक्ने अवस्था आएको जनाउँदै पार्टीको क्षेत्रीय सभापतिसमक्ष लिखित राजीनामा पेस गरिएको फेसबुक पोष्टमा उल्लेख गर्नु भएको छ । पार्टीमा रहँदा प्राप्त अनुभव, सहयोग र अवसरप्रति आभार व्यक्त गर्दै उहाँले आफ्नो राजीनामा स्वीकृत गरी विधान तथा प्रक्रियाअनुसार आवश्यक कारबाही गरिदिन अनुरोध गर्नुभएको छ।