धादिङबेंसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने

41 पटक पढिएको

१७ आश्विन २०८३, शनिबार ०७:२७ सम्पादक: धादिङ न्यूज

धादिङ –धादिङ सदरमुकाम धादिङबेंसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पक्की पुल बाढीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार–मास्टार सडक आज ५ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनु भयो ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएको थियो । पुल बगेपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालयले सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी-सुनौलाबजार-भोर्ले-कोसीखोला-फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।