कांग्रेस १५औँ महाधिवेशन: धादिङबाट ११ नेताको केन्द्रीय तहमा उम्मेदवारी दाबी

5 पटक पढिएको

२० आश्विन २०८३, मंगलवार १२:१० सम्पादक: धादिङ न्यूज

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता भइरहँदा धादिङ जिल्लाबाट केन्द्रीय तहमा उम्मेदवारी दिने नेताहरूको नाम, पद तथा उनीहरूको वर्तमान राजकीय जिम्मेवारीसहितको पूर्ण समाचार विवरण सार्वजनिक भएको छ। प्राप्त जानकारीअनुसार धादिङबाट सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि ११ जना प्रभावशाली नेताहरूले प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरेका छन्।

नयाँ संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बन्नेछ। यस नयाँ संरचनामा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३ र सहमहामन्त्री १५ जना रहने व्यवस्था गरिएको छ। साथै, केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५, महिलाबाट १५ तथा विभिन्न क्लस्टर, प्रदेश र समूहगत प्रतिनिधित्वको व्यवस्था गरिएको छ भने ६६ जना केन्द्रीय सदस्य मनोनीत हुने प्रावधान छ।

धादिङबाट उम्मेदवारी घोषणा गर्ने ११ जना नेताहरूमध्ये रमेश धमला, दिलमान पाख्रिन र उर्मिला थपलिया हालका केन्द्रीय सदस्यसमेत हुन्। उनीहरूले यसपटक पनि केन्द्रीय तहमा आफ्नो बलियो उपस्थिति देखाउने तयारी गरेका छन्। यसपटकको महाधिवेशनमा धादिङका विशिष्ट जनप्रतिनिधिहरूले समेत केन्द्रीय तहमा दाबी प्रस्तुत गरेका छन्, जसमध्ये उर्मिला थपलिया प्रतिनिधि सभा सदस्य हुनुहुन्छ भने मधु कुमार श्रेष्ठ वागमती प्रदेश सभा सांसद हुनुहुन्छ। त्यस्तै, भीमप्रसाद ढुङ्गाना नीलकण्ठ नगरपालिकाका प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष हुनुहुन्छ।

धादिङबाट सहमहामन्त्री पदका लागि दिलमान पाख्रिन र रमेश धमलाले उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्य पदतर्फ भीमप्रसाद ढुङ्गाना, उर्मिला थपलिया, रमेश विश्वकर्मा, रिता थापामगर, कृष्ण रिजाल, राधाकृष्ण भण्डारी, कविता इटनी, उर्मिला कँडेल र मधुकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्।

स्थानीय तहको नेतृत्वदेखि संघीय र प्रदेश संसदसम्मको अनुभव सँगालेका दिग्गज नेताहरूले समेत केन्द्रमा उम्मेदवारी दिएसँगै १५औँ महाधिवेशनमा धादिङको राजनीतिक सरगर्मी र चलखेल उच्च बिन्दुमा पुगेको छ।