भोटेकोशी बाढीमा अभिभावक गुमाएका चालिस बालबालिकालाई शैक्षिक निरन्तरताका लागि आर्थिक सहयोग
67 पटक पढिएको
धादिङ, २३ असोज । भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका धादिङका गल्छी, गजुरी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकाका बालबालिकालाई शैक्षिक निरन्तरताका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको पहलमा इटालीयन गैरसरकारी संस्था भिवास्पि, गोनेशा पोखरा र सिड्स धादिङको संयुक्त पहलमा उक्त राहत प्रदान गरिएको हो। असोज २३ गते शुक्रबार गल्छी गाउँपालिका–४, मासटारमा एक कार्यक्रमको आयोजना गरी गल्छी र गजुरी गाउँपालिकाका प्रभावित परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडा, उपाध्यक्ष भाईकाजी तिवारी, एनसिई नेपालका रामप्रसाद सुवेदी, कौशिला खरेल र सिड्स धादिङका गोकर्ण रुपाखेती लगायतको आतिथ्यतामा सहयोग रकम वितरण गरिएको हो। सो अवसरमा गल्छीका ९, गजुरीका ९ र बेनिघाट रोराङका १ जना गरी प्रभावित परिवारलाई नगद हस्तान्तरण गरिएको छ।
एनसिई नेपालका धादिङ संयोजक गोकर्ण प्रसाद रुपाखेतीका अनुसार थाक्रे गाउँपालिकाका २१ परिवारलाई पनि छिट्टै प्रतिपरिवार १० हजार रुपैयाँका दरले सहयोग हस्तान्तरण गरिनेछ।







