बूढीगण्डकीमा अचानक ठूलो बाढी: नदी थुनिने र खुल्ने क्रम जारी, तटीय क्षेत्रका बस्ती उच्च जोखिममा
113 पटक पढिएको
गोरखा – बूढीगण्डकी नदीमा आइतबार बिहानै ठूलो आवाजसहित बाढी आएपछि तटीय क्षेत्रका बासिन्दाहरूमा त्रास फैलिएको छ। अचानक नदीको बहाव बढेपछि किनार आसपासका स्थानीय बासिन्दाहरू घर छाडेर सुरक्षित स्थानतर्फ भागेका छन्।
चुमनुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङका अनुसार बूढीगण्डकीको सहायक नदी ‘स्यारखोला’ तर्फबाट ठूलो बाढी आएको हो। बाढीसँगै माथिल्लो क्षेत्रमा पहिरो वा गेग्रान थुप्रिएका कारण नदी पटक-पटक थुनिने र खुल्ने भइरहेको छ।
चुमनुब्री गाउँपालिका-३, जगतका स्थानीय गणेश कार्कीका अनुसार बिहानदेखि अहिलेसम्म कम्तीमा तीनपटक नदी थुनिँदै र खुल्दै गरेको छ। समाचार तयार पार्दासम्म नदी पुनः थुनिने क्रममा रहेको र यसले तल्लो तटीय क्षेत्रमा एक्कासि फुटेर ठूलो क्षति पुर्याउन सक्ने जोखिम बढेको कार्कीले जानकारी दिए।
यस्तै, बिहान साढे चार बजेतिर ठूलो विकराल आवाजसहित बाढी आएपछि लोक्पा क्षेत्रका बासिन्दाहरू समेत भागाभाग गर्दै सुरक्षित स्थानमा सरेको स्थानीय सेराप गुरुङले बताएका छन्।
संभावित जोखिमलाई ध्यानमा राख्दै प्रहरी तथा स्थानीय प्रशासनले बाढी प्रभावित हुनसक्ने तल्लो तटीय बस्तीहरूमा पूर्वसूचना जारी गरेको छ।
प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार नदी किनारमा रहेका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत र आरुघाट लगायतका बस्तीका बासिन्दालाई फोन तथा माइकिङमार्फत तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिइएको छ।







