बाढी प्रभावित शिक्षकहरूका लागि विपद्‌मा शिक्षा तथा मनोसामाजिक सहायता सम्बन्धी ३ दिने तालिम सम्पन्न

35 पटक पढिएको

३० आश्विन २०८३, शुक्रबार ०२:१० सम्पादक: धादिङ न्यूज

 

धादिङ, ३० असोज। बाढी प्रभावितक्षेत्रका शिक्षकहरूका लागि विपद्‌मा शिक्षा तथा मनोसामाजिक सहायता सम्बन्धी ३ दिने तालिम  सम्पन्न भएको छ।

धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका बाढी प्रभावित विद्यालयका शिक्षकहरूका लागि सञ्चालित ‘विपद्‌मा शिक्षा तथा मनोसामाजिक सहायता’ सम्बन्धी ३ दिने तालिम असोज २९ गते सम्पन्न भएको छ। युनेस्को, सेभ द चिल्ड्रेन, फोकस नेपाल तथा बेनिघाट रोराङ र गजुरी गाउँपालिकाको संयुक्त समन्वयात्मक साझेदारीमा उक्त तालिम सञ्चालन गरिएको हो।

गजुरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुनिता खतिवडाको विशेष उपस्थितिमा सुरु भएको कार्यक्रममा सेभ द चिल्ड्रेनका ‘इमर्जेन्सी एजुकेसन स्पेसलिस्ट’ बालमुकुन्द महतले ३ दिने तालिमका उद्देश्यहरूबारे स्पष्ट पार्नुभएको थियो।

तालिममा शैक्षिक क्षेत्रमा विपद् आउनुभन्दा पहिले गर्नुपर्ने पूर्वतयारी, विपद् पश्चातको प्रतिकार्य र पुनःस्थापनाका महत्त्वपूर्ण विषयमा छलफल गरिएको थियो। साथै, विपद्‌को समयमा विद्यार्थीहरूलाई शिक्षण क्रियाकलापमा कसरी निरन्तर सहभागी गराउने र उनीहरूलाई कसरी मनोपरामर्श  प्रदान गर्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो।

ग्लोबल एक्सन नेपालका कार्यक्रम निर्देशक श्रीकृष्ण व्यञ्जु र सेभ द चिल्ड्रेनका मनोसामाजिक सहायता संयोजक  उषा जोशीले प्रशिक्षकको रूपमा तालिम सहजीकरण गर्नुभएको थियो। फोकस नेपाल धादिङकी शिक्षा अधिकृत  मुक्तिकला लामिछानेले कार्यक्रमको सञ्चालन तथा सहजीकरण गर्नुभएको थियो।

तालिममा गजुरी गाउँपालिकाका स्रोत शिक्षकसहित २४ जना र बेनिघाट रोराङ गाउँपालिकाका ४ जना गरी कुल २८ जना शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागी शिक्षकहरूले हालको परिस्थितिमा यस्तो तालिमको आयोजना हुनु अत्यन्तै व्यावहारिक र प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।

असोज २७ गतेदेखि २९ गतेसम्म सञ्चालित उक्त तालिमको समापन सत्रमा बोल्दै गजुरी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख सुनिता खतिवडाले तालिम समय सान्दर्भिक र प्रभावकारी रहेको बताउनुभयो। कार्यक्रमको औपचारिक समापन फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुलीले गर्नुभएको थियो।