दुःखका माझ दसैँको उमङ्ग: विपद्मा परेका परिवारसँग खुसी बाँड्दै प्रयास नेपाल र सेन्ट जोसेफ क्लुनी सोसाइटी

21 पटक पढिएको

२ कार्तिक २०८३, आईतवार ०४:४१ सम्पादक: धादिङ न्यूज

धादिङ- दसैँको मुखमा विपद्का कारण कष्टकर जीवन बिताइरहेका परिवारका लागि नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटी र प्रयास नेपाल धादिङको संयुक्त पहलमा गजुरी गाउँपालिकाको वडा नम्वर ५ मा पर्ने रातमाटे र गलौंदी होल्डिङ सेन्टरमा बस्दै आएका ८३ परिवारलाई दसैँ विशेष राहत सामग्री बाँडिएको छ।

भदौ १० को भोटेकोशी बाढीका कारण घरबार छाडेर होल्डिङ सेन्टरमा बस्न बाध्य भएका परिवारले पनि अरू सरह दसैँ मनाउन सकून् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो। प्रतिपरिवार करिब १० हजार रुपैयाँ बराबरको खसीको मासु, खानेतेल, मसला, प्याज, हरियो सागसब्जी र चिउरालगायत दसैँका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

वडा अध्यक्ष गोविन्द लामिछानेको रोहबरमा भएको उक्त कार्यक्रममा नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीका सिस्टरहरू, प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक दामोदर अर्याललगायतको उपस्थिति थियो।

विपद्को यो कठिन घडीमा प्रभावित परिवारहरूसँग खुसी बाँड्दै उनीहरूलाई आत्मीयता र सम्मानको आभास दिलाउनु नै सच्चा मानवता हो। यो दुःखको समयमा विपद्मा परेका परिवारको अनुहारमा मुस्कान ल्याउन सहयोग गर्ने श्री नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटी र प्रयास नेपालको यो कदम साँच्चै प्रशंसनीय रहेको वडा अध्यक्ष लामिछानेले बताउनु भयो ।