मानिसले खान नमिल्ने चोकर भेटिएपछि ‘प्रियागोल्ड बिस्कुट’को आयात र बिक्रीमा पूर्ण प्रतिबन्ध, बजारबाट फिर्ता गर्न सरकारको निर्देशन
39 पटक पढिएको
काठमाडौँ, २ कात्तिक । भारतीय चर्चित ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ मा मानिसले उपभोग गर्न नमिल्ने र गाईवस्तुको दानामा प्रयोग हुने गुणस्तरहीन चोकर मिसावट भएको भेटिएपछि नेपाल सरकारले यसको आयात, नाकाबाट हुने प्रवेश अनुमति र बिक्री/वितरणमा तत्कालका लागि पूर्ण रोक लगाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै नेपालका सबै आधिकारिक पैठारीकर्ता तथा खाद्य व्यवसायीहरूलाई बजारमा पठाइएका प्रियागोल्ड बिस्कुटका सबै ब्याच र जुनसुकै उत्पादन मिति भएका उत्पादनहरू तत्काल फिर्ता गर्न कडा निर्देशन दिएको हो।
भारतीय नियामक निकाय ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ ले अक्टोबर १७ मा जारी गरेको प्रतिवेदन तथा कारबाहीको आधारमा नेपालमा पनि विभागले यो निर्णय लिएको हो।
भारतमा परेको उपभोक्ताको उजुरीका आधारमा ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखानामा आकस्मिक अनुगमन गर्दा गम्भीर लापरबाही फेला पारेको थियो। बिस्कुटमा फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको चोकर राखिएका जुटका बोराहरूमा स्पष्ट रूपमा “गाईवस्तुको दानाका लागि” र “मानव उपभोगका लागि नभएको” लेखिएको भेटिएको थियो। यसका साथै कारखानामा सरसफाइ, कच्चापदार्थ भण्डारण तथा किटनाशक नियन्त्रणमा समेत गम्भीर त्रुटि पाइएपछि भारतमै उक्त कम्पनीको लाइसेन्स निलम्बन गरी कानुनी कारबाही अघि बढाइएको छ।
नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको प्रडक्ट रिकल प्राविधिक समितिको बैठकले जनस्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपाली बजारमा रहेका सबै बिस्कुट फिर्ता गराउने निर्णय गरेको हो।
बजारबाट फिर्ता ल्याइएका बिस्कुटहरू स्थानीय प्रशासन वा स्थानीय तहका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा मुचुल्का उठाएर सुरक्षित रूपमा नष्ट गरिने विभागले जनाएको छ।
विभागको आदेशलाई बेवास्ता गर्दै उक्त बिस्कुटको बिक्री वितरण जारी राखेमा वा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।







