विश्व एमएमए च्याम्पियनसिपमा थाक्रे–३ का उत्सव पुरीले जिते रजत पदक

42 पटक पढिएको

१२ कार्तिक २०८३, बुधबार १०:५३ सम्पादक: धादिङ न्यूज

धादिङ : धादिङको थाक्रे गाउँपालिका–३ का उत्सव पुरीले भारतमा आयोजित तेस्रो विश्व एमएमए च्याम्पियनसिप २०२६ मा रजत पदक जित्न सफल भएका छन्।

भारतमा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका पुरीले रजत पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन्। उनको सफलताले थाक्रे गाउँपालिका सहित धादिङ जिल्लाको खेलकुद क्षेत्रमा उत्साह थपेको छ।

तेस्रो विश्व एमएमए च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुल १३ पदक जितेका छन्। नेपालले प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र २ कांस्य पदक हासिल गरेको हो।

नेपालका लागि ओमप्रकाश कोली, सोनी तामाङ, प्राञ्जल बोहोरा, फुर्साङ तामाङ, शीतल कोली, सिर्जना बिसी र प्रयास खत्रीले स्वर्ण पदक जितेका छन्।

त्यस्तै, उत्सव पुरी, तुफान खड्का, सुभास चौधरी र करण सिर्पालीले रजत पदक जितेका छन्। सिद्धार्थ साउद र समीर विकले कांस्य पदक हासिल गरेका छन्।

प्रतियोगितामा नेपाली टोलीका प्रशिक्षकका रूपमा पदम ठकुल्ला र विजयकुमार सोनी रहेका थिए भने निर्णायकका रूपमा निश्चल केसी र सुमित सोनी सहभागी थिए।

अन्तर्राष्ट्रिय प्रतियोगितामा थाक्रे–३ का उत्सव पुरीले हासिल गरेको यो सफलता स्थानीय खेलाडीका लागि प्रेरणादायी बनेको छ।