चक्रवात ‘अर्नब’को प्रभावले मुख्य राजमार्गमा पहिरो र बाढीको जोखिम, सतर्क रहन आग्रह

42 पटक पढिएको

१३ कार्तिक २०८३, बिहीबार १५:१४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले नेपालका विभिन्न मुख्य राजमार्गमा पहिरो, बाढी र सडक कटानको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित निकायले पूर्वसूचना जारी गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै प्रमुख राजमार्गको प्रारम्भिक पहिरो जोखिम आकलन सार्वजनिक गरेका हुन्।

सूचनाअनुसार आगामी केही दिनमा नारायणी, बागमती र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा वर्षा हुन सक्ने भएकाले पहाडी र भिरालो भूभाग भएका सडक खण्डमा पहिरो खस्ने, ढुङ्गा झर्ने तथा सडक भासिने जोखिम छ। नदी किनारका सडकमा जलसतह बढ्दा बाढी र कटानको खतरा पनि बढ्न सक्ने जनाइएको छ।

वर्षाका कारण साना तथा ठूला खहरे खोलामा पानीको बहाव बढ्दा कल्भर्ट र सडक संरचनामा क्षति पुग्न सक्ने सम्भावना छ। पहिरो तथा बाढीका कारण राजमार्ग अवरुद्ध भए यातायात सञ्चालनसँगै अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित हुन सक्ने आकलन गरिएको छ।

जोखिममा पर्न सक्ने सडक खण्डमध्ये नारायणगढ–मुग्लिन सडक, त्रिशूली तथा नारायणी नदी किनारका सडक, कोशी राजमार्ग, सिद्धार्थ राजमार्ग, कान्ति राजमार्ग र अरनिको राजमार्ग रहेका छन्। बागमती नदी जलाधार क्षेत्रसँग जोडिएका सडक तथा विगतमा पहिरो गएका र नदी कटानको जोखिममा रहेका अन्य राजमार्ग खण्डमा समेत सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ।

सम्बन्धित निकायले वर्षाको समयमा अत्यावश्यक कामबाहेक राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्। यात्रा गर्नैपर्ने अवस्था भएमा ट्राफिक प्रहरी वा सम्बन्धित सडक कार्यालयबाट पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

सम्भावित वर्षा र विपद्का घटनालाई ध्यानमा राख्दै यात्रुले सडकको अवस्था, मौसमसम्बन्धी सूचना र सम्बन्धित निकायका पूर्वचेतावनीलाई नियमित रूपमा पछ्याउन आवश्यक देखिएको छ।