देउवा पक्ष कांग्रेसको धादिङ जिल्ला अधिवेशन आज, महाधिवेशन प्रतिनिधि छनोटमा विवाद
45 पटक पढिएको
धादिङबेसी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर धादिङ कांग्रेसको १५औँ जिल्ला अधिवेशन आज धादिङबेसीमा हुँदैछ। जिल्ला समन्वय समितिको हलमा दिउँसो १२ः३० बजे सुरु हुने अधिवेशनमा पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
देउवा पक्षले पार्टीको आधिकारिक जिल्ला अधिवेशनभन्दा अलग्गै समानान्तर अधिवेशन गर्न लागेको हो। अधिवेशनको तयारी जिल्ला अधिवेशन तयारी समितिले गरेको छ।
अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सांसद प्रकाशमान सिंह विशेष अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा तथा पालिका सभापति र पदाधिकारी, प्रदेश सभा क्षेत्र तथा प्रतिनिधिसभा क्षेत्रका सभापति र पदाधिकारी, प्रदेश प्रतिनिधि एवं केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
जिल्ला अधिवेशन तयारी समितिका संयोजक गोपाल विश्वकर्माले कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अभियन्ता र आम धादिङवासीलाई कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरेका छन्।
अधिवेशन हुनुअघि नै देउवा पक्षभित्र महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर विवाद देखिएको छ। देउवा समूहबाट महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दिएका धादिङका दीपेश धमलाले प्रतिनिधि छनोट प्रक्रियामा मनोमानी भएको आरोप लगाएका छन्।
धमलाले सामाजिक सञ्जालमार्फत प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आफूले प्रक्रियाको विरोध गरेको बताएका छन्। उनका अनुसार क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिए पनि सदरमुकामसमेत रहेको क्षेत्र नम्बर २ बाट भने प्रतिनिधिको नाम सार्वजनिक गरिएको छैन।
धमलाले क्षेत्र नम्बर २ मा संयोजकले आफू निकटका व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बनाएको आरोप लगाउँदै प्रतिनिधि छनोटको प्रक्रियाबारे निर्वाचन समितिमा निवेदन दिने बताएका छन्। उनले दसैँ बिदाको दिन प्रतिनिधि छनोट गरिएको र त्यसको विवरण सार्वजनिक नगरिएको भन्दै प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो भेलाले प्रतिनिधि तोकेको होइन, कोही नझुक्किनु होला।” साथै, उनले जिल्ला अधिवेशन बहिष्कार गर्नसमेत आह्वान गरेका छन्।

प्रतिनिधि छनोटमा अनियमितता भएको आरोपबारे प्रतिक्रिया दिँदै जिल्ला अधिवेशनका संयोजक गोपाल विश्वकर्माले महाधिवेशन प्रतिनिधि छनोटमा कुनै गडबडी नभएको दाबी गरेका छन्।
धमलाले उठाएका प्रश्न र आरोपबारे संयोजक विश्वकर्माले प्रक्रिया ठीक रहेको प्रतिक्रिया दिएका छन्। यद्यपि क्षेत्र नम्बर २ बाट प्रतिनिधि छनोटको विवरण सार्वजनिक नहुँदा विवाद थप चर्किएको छ।
धादिङमा देउवा पक्षमा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा आबद्ध रहेका नेताहरूको उपस्थिति देखिएको छ। उनीहरूका अतिरिक्त बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस धादिङका पूर्वसचिव गोविन्द लम्साल पनि देउवा पक्षमा देखिएका छन्।
जिल्ला अधिवेशनले देउवा पक्षको जिल्ला नेतृत्व र संगठनात्मक अवस्थाबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ। तर अधिवेशनअघि नै प्रतिनिधि छनोटमा उठेको विवादले भने कार्यक्रमको वातावरणलाई प्रभावित पार्ने देखिएको छ।







