गायिका अमृता लुङ्गेली मगरको तिहार गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक

24 पटक पढिएको

१६ कार्तिक २०८३, आईतवार १९:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ। अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक महत्त्व, देउसीभैलोको परम्परा र दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई समेटेर तयार पारिएको गीत दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो।

तिहारको उल्लास, सांस्कृतिक परम्परा र पारिवारिक आत्मीयतालाई गीत तथा दृश्यमार्फत प्रस्तुत गरिएको यस गीतमा राजु परियार, घमेश दुलाल, सरोज बिरही कार्की, सीता थापा, राधिका हमाल र अमृता लुङ्गेली मगरको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेञ्ज सरोज बिरही कार्कीले गरेका हुन्।

खगेन्द्र गिरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन्। तिहारको सांस्कृतिक परिवेश, देउसीभैलोको रमाइलो र नेपाली मौलिक परम्परालाई समेटेर भिडियो निर्माण गरिएको छ। भिडियोको छायांकन केशव विश्वकर्माले गरेका हुन् भने सम्पादन कल्पेश विश्वकर्माले गरेका छन्।

गीत गायिका अमृता लुङ्गेली मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। तिहारको अवसरमा सार्वजनिक गरिएको यस गीतले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई आफ्नो मौलिक संस्कृति, चाडपर्व र परम्परासँग जोड्ने अपेक्षा गरिएको छ।

करिब दुई दशकदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय अमृता लुङ्गेली मगरका यसअघि ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायतका गीत सार्वजनिक भइसकेका छन्। लोकदोहोरी तथा नेपाली मौलिक गीतसंगीतमा निरन्तर सक्रिय उनले आफ्नो सांगीतिक यात्राका क्रममा विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरेकी छन्।

गायन क्षेत्रकै योगदानका आधारमा ‘एक्स्ट्राअर्डिनरी भिसा’ प्राप्त गरेकी लुङ्गेली मगर हाल परिवारसहित अमेरिकामा बस्दै आएकी छन्। विदेशमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र लोकसंगीतको प्रवर्द्धनमा सक्रिय रहँदै आएकी उनले नयाँ गीतमार्फत पनि नेपाली मौलिक चाडपर्व र सांस्कृतिक परम्परालाई निरन्तरता दिने प्रयास गरेकी छन्।

तिहारको रमझमसँगै देउसीभैलोको मौलिक स्वाद बोकेको ‘झिलीमिली देउसी भैलो’ले यस वर्षको तिहारमा नेपाली संगीतप्रेमीमाझ थप उत्साह र उमङ्ग ल्याउने अपेक्षा गरिएको छ।