थाक्रे –३ का वडाध्यक्ष विजय तामाङ लाई सांसद आशिका तामाङको हप्कीदप्की, आफ्नै भिडियोले बढायो विवाद
80 पटक पढिएको
धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पार्टीकी केन्द्रीय सदस्य आशिका तामाङ फेरि विवादमा तानिएकी छन्। थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय तामाङसँग वडा कार्यालयमै चर्काचर्की गरेकी सांसद तामाङले हप्कीदप्की गरेको भिडियो सार्वजनिक गरेकी छन्।
कात्तिक १८ गते बुधबार थाक्रे गाउँपालिका–३, बेसीमल्डुङस्थित वडा कार्यालय पुगेकी सांसद तामाङले वडाध्यक्ष विजय तामाङसँग बाटो सफाइ र वडा कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर नराखिएको विषयलाई लिएर विवाद गरेकी हुन्। सांसद आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनी वडा कार्यालय प्रवेश गर्नेबित्तिकै बाटो किन सफा नगरेको भन्दै वडाध्यक्षसँग आक्रोशित भएको देखिन्छ।
वडाध्यक्षले आफूले नै बाटो सफा गरेको जवाफ दिए पनि सांसद तामाङले बाटो कहीँ पनि सफा नभएको भन्दै प्रश्न दोहोर्याएकी छन्। त्यसपछि उनले देशको प्रधानमन्त्री को हो भन्दै वडाध्यक्षलाई नाम सोधेकी छन्। वडाध्यक्षले प्रधानमन्त्रीको नाम थाहा भएको तर त्यसबारे किन चासो राख्नुपर्ने भन्दै प्रतिप्रश्न गरेपछि विवाद थप चर्किएको भिडियोमा देखिन्छ।
वडा कार्यालयको भित्तामा राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलको तस्बिर राखिएको तर प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर नराखिएको विषय उठाउँदै सांसद तामाङ आक्रोशित भएकी छन्। वडाध्यक्षले प्रधानमन्त्रीको तस्बिर राख्नुपर्नेमा छुटेको स्वीकार गर्दै अब राख्ने बताए पनि विवाद साम्य भएन।
वडाध्यक्ष विजय तामाङले धादिङ न्यूजलाईलाई दिएको प्रतिक्रियामा सांसद तामाङ वडा अध्यक्षको कार्यकक्षमा प्रवेश गर्दा आक्रोशित भएर आएको र आफूले सम्मानपूर्वक स्वागत गरेको बताएका छन्।
‘सुरुमा उहाँहरू आउनुभयो। आफ्नो क्षेत्रबाट जितेका सांसद भएकाले मैले सम्मानपूर्वक बस्नोस्, के कामले आउनुभयो भनेँ। तर, उहाँ बाहिरदेखि नै एकदम रिसाएर आउनुभएको रहेछ। के कारणले रिसाउनुभयो थाहा भएन,’ उनले भने।
वडाध्यक्षका अनुसार बाटो सफा गरेको जवाफ दिँदासमेत सांसदले प्रधानमन्त्रीको नाम र तस्बिरको विषय पटकपटक उठाएर आफूलाई दबाब दिएकी थिइन्।
‘प्रधानमन्त्रीको तस्बिर राख्नुपर्ने थियो, मिस्टेक भयो, अब राखौँला भनेँ। त्यसपछि पनि उहाँ रोकिनुभएन, एकदम थर्काउनुभयो,’ उनले भने।
वडाध्यक्षले सांसद निर्वाचित भएको पाँच–छ महिनासम्म पनि आफ्नो वडाका समस्या र विकास निर्माणका कामबारे पर्याप्त जानकारी नलिएको आरोप लगाएका छन्। उनले २०७४ सालको अवस्थासँग अहिलेको वडाको विकास तुलना गर्न स्थानीय जनतालाई आग्रह गर्दै सांसद आफैँले निर्वाचित भएपछि कति बजेट ल्याइन् र के काम गरिन् भन्ने प्रश्नसमेत गरेका छन्।
वडा कार्यालयमा विवाद गरेर बाहिरिएपछि सांसद तामाङले अर्को ढुंगाखानीको भिडियो खिच्दै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुखलाई फोन गरेको दृश्य पनि सार्वजनिक गरेकी छन्।
उनले ढुंगाखानी किन बन्द नगरेको भन्दै प्रहरी प्रमुखसँग प्रश्न गरेकी छन्। भिडियोमा ‘मैले भनेपछि खानी किन बन्द नगरेको’, ‘सीडीओलाई सोध्नुभएको छैन’ र गाउँपालिका अध्यक्षले नटेर्ने भन्दै आक्रोश व्यक्त गरेको सुनिन्छ।जवाफमा प्रहरी प्रमुखले सांसदलाई ‘संयमित हुन आग्रह गरेको सुनिन्छ।
वडा अध्यक्षसँगको विवादलगत्तै प्रहरी प्रमुखसँग पनि फोनमा चर्काचर्की गरेको दृश्य सार्वजनिक भएपछि सांसद तामाङको कार्यशैलीमाथि थप प्रश्न उठेको छ। जनप्रतिनिधिका रूपमा सम्बन्धित निकायसँग जवाफ माग्नु र गैरकानुनी गतिविधि नियन्त्रण गर्न दबाब दिनु स्वाभाविक भए पनि त्यसका लागि अपनाइने भाषा, व्यवहार र पदीय मर्यादाले पनि उत्तिकै महत्त्व राख्छ।
स्थानीय तहमा निर्वाचित वडाध्यक्ष र संघीय संसद्मा निर्वाचित सांसद दुवै जनताका प्रतिनिधि हुन्। उनीहरूबीच असहमति हुनु अस्वाभाविक होइन। तर सार्वजनिक पदमा रहेका व्यक्तिबाट एकअर्काप्रति अपमानजनक भाषा र व्यवहार प्रदर्शन हुनु राजनीतिक संस्कारका दृष्टिले उचित मान्न सकिँदैन।
सामाजिक अभियन्ताका रूपमा चर्चामा आएकी सांसद तामाङ निर्वाचित भएपछि पनि विभिन्न जनप्रतिनिधिसँगको विवादका कारण पटकपटक चर्चामा आएकी छन्।
यसअघि भदौ १४ गते भोटेकोसी बाढीपीडितलाई राहत वितरणको विषयमा धादिङकै गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपक कार्कीसँग उनको भनाभन भएको थियो। उक्त घटनामा गल्छी–४ का वडाध्यक्ष राजु अधिकारीले पनि सांसदले आफू र अन्य वडाध्यक्षमाथि लगाएका आरोपको खण्डन गर्दै उद्धार तथा राहत वितरणमा आफूहरू सुरुदेखि नै खटिएको स्पष्टीकरण दिएका थिए।
त्यस्तै, थाक्रे गाउँपालिका–७ स्थित ढुंगाखानीमा ढुंगा खसेर टिपर चालक दीपेन्द्र खत्रीको मृत्यु भएपछि सांसद तामाङले गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसँग पनि विवाद गरेकी थिइन्। उक्त घटनामा खानी सञ्चालन र नियमनमा लापरबाही भएको भन्दै सांसदले प्रश्न उठाएकी थिइन् भने गाउँपालिका अध्यक्षले खानी सञ्चालनका लागि गाउँपालिकाले स्वीकृति नदिएको दाबी गरेका थिए।
सांसद तामाङको पछिल्लो गतिविधिले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक छवि र जनप्रतिनिधिको आचरणबारे पनि प्रश्न उठाएको छ। रास्वपाले सुशासन, जवाफदेहिता र राजनीतिक संस्कार परिवर्तनको नारा अघि सार्दै आएको छ। तर आफ्नै पार्टीका जनप्रतिनिधि पटकपटक विवादमा तानिँदा पार्टी नेतृत्वले त्यसलाई कसरी लिन्छ भन्ने चासो बढेको छ।
रास्वपाले अघि सारेको ‘राइट टु रिकल’ अर्थात् जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने अवधारणाको चर्चा गर्ने पार्टीले आफ्ना सांसदको व्यवहार र कार्यशैलीबारे पनि जवाफदेहिता देखाउनुपर्ने आवाज उठ्न थालेको छ।
सांसदको काम स्थानीय तहका जनप्रतिनिधिलाई हप्काउने, प्रहरी प्रमुखलाई फोन गरेर आक्रोश पोख्ने र विवादका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेर चर्चामा आउने मात्र होइन। आफ्नो निर्वाचन क्षेत्रका समस्या पहिचान गर्ने, विकासका लागि बजेट र योजना ल्याउने, स्थानीय सरकारसँग समन्वय गर्ने र सरकारलाई जवाफदेही बनाउने जिम्मेवारी पनि सांसदकै हो।
जनताको समस्या उठाउनु सकारात्मक कुरा हो। तर समस्या उठाउने नाममा सार्वजनिक पदको मर्यादा बिर्सेर विवादलाई नै राजनीतिक उपलब्धि बनाउने प्रवृत्तिले अन्ततः जनप्रतिनिधि र पार्टी दुवैको विश्वसनीयता कमजोर बनाउँछ। आशिका तामाङको पछिल्लो प्रकरणले रास्वपा नेतृत्वलाई आफ्ना जनप्रतिनिधिको व्यवहारबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा पुर्याएको छ।








Finally found a place where the deposits and withdrawals are actually quick. Using Skrill here makes everything so much easier. Give casinoskrill a shot if you hate waiting for your money.
This article was worth the time to read. Thanks for presenting your thoughts in such a clear and accessible way.