सिद्धलेक गाउँपालिका: ठेक्का सम्झौतामा बेवास्ता गर्ने ‘डेउडी बिल्डर्स’लाई कालोसूचीमा राख्ने चेतावनी
60 पटक पढिएको
धादिङ, २०८३ कात्तिक २० – धादिङको सिद्धलेक गाउँपालिकाले नदीजन्य पदार्थको बिक्री शुल्क उठाउने ठेक्का सम्झौता गर्न आनाकानी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण माग गरेको छ। गाउँपालिकाले एक अति जरुरी सूचना जारी गर्दै काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुस्थित ‘डेउडी बिल्डर्स प्रा.लि.’ लाई ७ दिनभित्र स्पष्ट र विश्वसनीय स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो।
गाउँपालिकाको आय ठेक्का अन्तर्गत नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, भेस, चिप्स) बिक्री शुल्क उठाउनका लागि श्री डेउडी बिल्डर्स प्रा.लि.को नाममा ठेक्का स्वीकृत भएको थियो। मिति २०८३।०४।०१ मा ठेक्का स्वीकृत भई २०८३।०४।१९ मा सम्झौता गर्न आउने सूचना जारी गरिए पनि फर्मले विभिन्न बाहना बनाउँदै सम्झौता प्रक्रिया टार्दै आएको थियो।
फर्मले तोकिएको समयमा सम्झौता नगरी, ठेक्का कबोल रकमको ५० प्रतिशत हुने रकमको चेक १५ दिनपछिको मिति राखी पेश गरेको थियो। पछि गाउँपालिकाले पटक-पटक ताकेता गर्दा पनि फर्मका प्रतिनिधिले चासो नदेखाएको र सम्झौताका लागि आवश्यक प्रक्रिया पूरा नगरेको कार्यालयले जनाएको छ।
गाउँपालिकाले मिति २०८३।०५।२४ को पत्रसाथ पेस भएको उक्त चेक जम्मा गर्न बैंकमा पठाउँदा बैंकमा पर्याप्त मौज्दात नभएको कारण चेक साटिन सकेको थिएन। सम्झौताप्रति लापरबाही र आर्थिक अनुशासन पालना नगरेको भन्दै गाउँपालिकाले नियमानुसार फर्मलाई कालोसूचीमा किन नराख्ने भनी प्रश्न उठाएको छ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्ट र विश्वसनीय स्पष्टीकरणसहित आधिकारिक व्यक्तिलाई गाउँपालिकाको कार्यालयमा उपस्थित हुन भनिएको छ। यदि निर्धारित समयमा स्पष्टीकरण नबुझाएमा ठेक्का सम्झौताका सर्तहरू, प्रचलित ऐन, नियम तथा कानुन बमोजिम धरौटी जफत गर्नुका साथै दोस्रो सफल बोलपत्रदातासँग सम्झौता प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।







