छठ पर्व: आज दोस्रो दिन श्रद्धा र निष्ठापूर्वक ‘खरना’ विधि गरिँदै

55 पटक पढिएको

२९ कार्तिक २०८३, शनिबार ०७:०८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । श्रद्धा, निष्ठा र लोकआस्थाको महान पर्व छठको दोस्रो दिन आज ब्रतालुहरूले ‘खरना’ विधिको तयारी गरेका छन्। कार्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व औपचारिक रूपमा सुरु गरेका ब्रतालुहरूले आज दिनभर उपवास बसेर खरना विधि मनाउँदै छन्। चार दिनसम्म चल्ने यस पर्वको दोस्रो दिनलाई खरना भनिन्छ। आज दिनभर निराहार व्रत बसेर बेलुका चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाउने गरिन्छ। त्यसपछि सो खीर केराको पातमा राखी छठी मातालाई चढाएर ब्रतालु तथा परिवारका अन्य सदस्यले प्रसादको रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।
पर्वको तेस्रो दिन अर्थात् भोलि आइतवार ब्रतालुहरू कठोर निराहार व्रत बसि नजिकैको जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन्। यसलाई तराई-मधेश तथा मिथिला क्षेत्रमा ‘सझिया घाटे’ भनिन्छ। त्यसपछि सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ अर्पण गरेपछि चार दिवसीय छठ पर्व विधिवत रूपमा समापन हुन्छ, जसलाई ‘भिनहीया घाटे’ भनिन्छ।
छठ पर्वमा अर्घ दिनका लागि बनाइने ठकुवा, कसारलगायतका मिष्ठान्न परिकारहरू ढिकी तथा जाँतोमा कुटिएको र पिठो पिसेरै तयार गर्ने चलन छ। यी पवित्र प्रसादहरू इष्टमित्र तथा आफन्तजनलाई घरमै बोलाएर खुवाउने र घर-घरमा पुर्‍याउने परम्पराले आपसी सद्भाव बढाउने गर्छ। पर्वलाई मध्यनजर गर्दै पूजा स्थल तथा जलाशय किनारहरूमा सरसफाइ र आकर्षक घाट निर्माण गर्ने कामलाई स्थानीयवासीले उच्च प्राथमिकताका साथ पूरा गरेका छन्।