राहदानी वितरण अब विहान आठै बजेदेखि

653 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Passportकाठमाडौं, २२ असार । सरकारले राहदानी वितरण प्रक्रियालाई सहज तुल्याउन असार २२ गते आईतवार देखि बिहान ८ बजेवाट काम सुरु गरेको छ ।

राहदानी लिन चाहने सेवाग्राहीले सास्ती झेल्नुपरेको सन्दर्भमा कार्यालय समयभन्दा दुई घण्टाअगाडि देखि राहदानी वितरण थालिएको हो ।

राहदानी उत्पादन र वितरणलाई सहज बनाउँदै शीघ्र सेवा प्रवाह गर्न राहदानी विभागले आजदेखि छवटा काउन्टरबाट राहदानी वितरण थालेको हो ।

विभागमा आईतवार आयोजित एक कार्यक्रममा राहदानी वितरणको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जनतालाई सुविधा दिन सरकार क्रियाशील रहेको र निकट भविष्यमा आवेदन फाराम दर्ता गर्ने प्रक्रियालाई अझ सरल तुल्याइने जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि प्रत्यक्ष दर्ता प्रणालीको व्यवस्था गरिएकाले राहदानी लिन चाहने सर्वसाधारणलाई समस्या नहुने उनले बताए ।

सेवाग्राहीसँग मर्यादित भएर व्यवहार गर्न कर्मचारीसँग आग्रह गर्दै उहाँले कामको चापका आधारमा सेवाग्राहीलाई कार्यालय समयअगावै पनि सेवा प्रवाह गर्न तत्पर हुन निर्देशन दिए ।

परराष्ट्रमन्त्रीले विभिन्न राजनीतिक दलका नेता, सभासद् एवम् सङ्गठित सङ्घसंस्थालाई पनि राहदानी प्राप्तिको प्रक्रियाबारे जानकारी दिन विभागलाई निर्देशन दिए ।

निमित्त परराष्ट्र सचिव शङ्करदास वैरागीले आम जनतालाई सरल र सहज ढङ्गले राहदानी उपलब्ध गराउन मन्त्रालय सधैँ क्रियाशील रहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विभागका महानिर्देशक रमेशप्रसाद खनालले हालसम्म २१ लाख यन्त्रले पढ्ने राहदानी (एमआरपी) वितरण गरिसकेको जानकारी दिँदै भोलिदेखि थप दुईवटा वितरण काउन्टर विस्तार गरिने बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्ड्ययन सङ्गठनको प्रावधानअनुसार संसारभरिका सबै देशले सन् २०१५ को नोभेम्बर २४ भित्रमा एमआरपी जारी गरिसक्नुपर्नेछ । रासस