सुर्खेत बस दुर्घटनामा मर्नेको संख्या १८ पुग्यो, ४९ जना घाइते घाइते भन्छन्, खलासीलाई चलाउन दिँदा बस पल्टियो  

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वीरेन्द्रनगर, मङ्सिर २२ – कालिकोटबाट टीकापुरका लागि छुटेकोे ना ४ ख ६८५७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको सुर्खेत पोखरीकाँडा कालोखोलामा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्ष १८ जना पुगेको छ भने ४९ जना यात्रु घाइते भएका छन् ।   कर्णाली राजमार्गको ४२ किलोमिटर खण्डमा पर्ने सुर्खेतको पोखरीकाँडा– ९ कालेखोलामा आइतबार साँझ भएको बस दुर्घटनामा परी घाइते हुनेहरुको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई वीरेन्द्रनगरबाट गएको एम्बुलेन्सले उद्धार गरी उपचारका लागि क्षेत्रीय अस्पताल पु¥याएको थियो ।     कुनाथरी प्रहरी चेकपोस्टबाट खटिएका प्रहरीको टोलीले घाइतेको उद्धार गरेको क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिए ।     बसमा क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताएका छन् ।     घाइतेमध्ये १० जनालाई नेपालगन्ज उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा परि मृत्यु हुनेमा अधिकांश बाजुरा जिल्लाका रहेका छन् । बस सहयोगीले गाडी चलाएको र क्षमताभन्दा बढी यात्रु चढेका कारण बस दुर्घटना भएको घाइतेले बताएका छन् ।     घाइते निम कार्कीले कामका लागि भारत जानका लागि हिँडेका बाजुरा जिल्लाका ३३ जनाले एउटै टिकट लिएको बताए । गाडी चालकले नचलाइ सहचालकलाई चलाउन दिएपछि बस पल्टिएको उनले उल्लेख गरे ।     घाइते लालजंग दमाईंले पैसा कमाउनका लागि भारत हिँडेको बताउँदै आफूहरुसँग अरु साथी पनि आएको जनाउनुभयो । चलाउन नजान्नेलाई चलाउन दिएपछि बस २०० मिटर तल खसेको उहाँको भनाइ छ । बसको क्षमता ३३ सिट मात्र रहेकोमा ६७ जनाभन्दा बढी यात्रुलाई चढाएको प्रहरीको भनाइ छ ।     प्रहरीका अनुसार दुर्घटनामा परि बाजुराको गोत्री गाविसका लालवीरे दर्जी, दुर्ग विष्ट, दिल सार्की, लाल दर्जी, मनराज विष्ट राम दर्जी, पंखे सार्की र पणे सार्कीको मृत्यु भएको छ ।     यसैगरी बस चालक सुर्खेत छिन्चुका मीनबहादुर बुढा र सहयोगी भवी खत्रीको पनि मृत्यु भएको छ भने आठ जनाको सनाखत हुन बाँकी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।