भूकम्पपीडितलाई भोकमरीको खतरा

1262 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

vukampa-pidit-3-660x330कृषि मन्त्रालयको तथ्यांक : भूकम्प प्रभावित जिल्लाका ४८ हजार परिवारका दुई लाख ६० हजार जनता भोकमरीको उच्च जोखिममा

नयाँ पत्रिका
काठमाडौं, २९ पुस
सिन्धुपाल्चोक १ नम्बरमा : उच्चतम खाद्य असुरक्षित जिल्लाको सूचीमा सबैभन्दाअघि सिन्धुपाल्चोक छ । सिन्धुपाल्चोकका ३३ गाविस खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिममा छन् । दोस्रो स्थानमा रहेको गोरखाका २० गाविस भोकमरीको उच्च जोखिममा छन् । त्यसपछि नुवाकोटका १३, रामेछापका १२, दोलखाका ११ र रसुवाका दुई गाविस उच्च जोखिममा छन् ।
भूकम्पबाट अति प्रभावित ६ जिल्ला उच्च जोखिममा
भूकम्प प्रभावित जिल्ला खाद्य सुरक्षाको दृष्टिले उच्च जोखिममा छन् । कृषि मन्त्रालयको तथ्यांकअनुसार सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रामेछाप, दोलखा र रसुवा गरी ६ जिल्लामा मात्रै ४८ हजार ६ सय घरधुरीका दुई लाख चार हजार चार सय जनता खाद्य सुरक्षाको उच्च जोखिममा छन् ।
धानको उत्पादन २२ र मकैको २० प्रतिशतले घट्यो, मूल्यवृद्धि ८० प्रतिशत
भूकम्पपछि यी जिल्लामा धान २२, मकै २० र कोदो उत्पादन १० प्रतिशतले घटेको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, पशुपालन उत्पादन १६ प्रतिशतले घटेको छ । भूकम्प प्रभावित जिल्लामा मूल्यवृद्धि ८० प्रतिशतले बढेको छ । वैशाखयता विप्रेषण प्रवाहमा २० प्रतिशतले कमी आएको छ । भूकम्प प्रभावित जिल्लामा खाद्य असुरक्षा उच्च तहमा पुग्नुमा यिनै कारण रहेको कृषि मन्त्रालयले जनाएको छ ।
१७ जिल्लाका दुई सय ९८ गाविस मध्यम जोखिममा
मन्त्रालयको तथ्यांकअनुसार १७ जिल्लाका २९८ गाविस खाद्य सुरक्षाका दृष्टिले मध्यम खालको जोखिममा परेका छन् । मध्यम खालको जोखिममा पर्ने जिल्लाको सूचीमा पनि पहिलो स्थानमा सिन्धुपाल्चोक नै छ । सिन्धुपाल्चोकका ४६, नुवाकोटका २७, रसुवाका १२, काभ्रेका ३२, दोलखाका १४, रामेछापका २२, धादिङका १६, ओखलढुंगाका १३, ताप्लेजुङका १५, खोटाङका ९, गोरखाका १७, डोटीका २, डोल्पाका १३, हुम्लाका २७, कालीकोटका १० र जाजरकोटका ६ गाविस मध्यम खालको खाद्य सुरक्षाको जोखिममा छन् ।
२६ जिल्लाका ४१८ गाविस खाद्य सुरक्षाका दृष्टिले असुरक्षित
२६ जिल्लाका चार सय १८ गाविस खाद्य सुरक्षाका दृष्टिले असुरक्षित रहेको पाइएको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार असुरक्षितमध्ये नौ जिल्लाका एक सय २० गाविस उच्च जोखिममा छन् । यी जिल्लाका एक सय २० गाविसका ६० हजार घरधुरी खाद्य सुरक्षाको उच्चतम जोखिममा छन् । जहाँ दुई लाख ६० हजार जनता बसोवास गर्छन् । त्यस्तै, १७ जिल्लाका दुई सय ९८ गाविस मध्यम जोखिममा छन् ।
बाजुरा र मुगु पनि उच्च जोखिममा
मन्त्रालयको तथ्यांकअनुसार बाजुराका १० गाविस खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिममा छन् । जिल्लाका सात हजार चार सय घरधुरीका ३२ हजार आठ सय जनता जोखिममा छन् । मकै तथा कोदो उत्पादन ५० प्रतिशत तथा धान उत्पादन १३ प्रतिशतले घट्नु मुख्य कारण रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, जिल्लामा रोजगारीको अवसर पनि ३० प्रतिशतले घटेको छ । मुगुका १२ गाविस र डोल्पाका सात गाविस पनि खाद्य सुरक्षाका दृष्टिले अत्यन्त जोखिममा छन् । दुई जिल्लाका चार हजार घरधुरीका २२ हजार आठ सय जनता खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिममा छन् ।
सुदूरपश्चिमका थप जिल्ला पनि जोखिममा
कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार खाद्य सुरक्षाको उच्चतम जोखिममा भूकम्प प्रभावित जिल्लाका साथै सुदूरपश्चिमी जिल्ला पनि छन् । ‘मुलुकभरका ६६ जिल्लामा खाद्य सुरक्षा सञ्जालका बैठक भए । खाद्य सुरक्षा अवस्थाको विश्लेषण भयो । यही आधारमा खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिम र मध्यम जोखिमयुक्त जिल्लाका गाविस छनोट गरिएका हुन्,’ उनले भने ।

-नयाँ पत्रिका दैनिकबाट