धादिङ–पोखरा एमाले–माओवादी मञ्चबीच एकता

1223 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा, – तत्कालीन नेकपा एमाले निकट धादिङ–पोखरा सम्पर्क मञ्च र माओवादी केन्द्र निकट जनसम्पर्क मञ्चबीच एकता भएको छ । संगठनको नाम नेपाल कम्युनिष्ट पार्टी, धादिङ–पोखरा जनसम्पर्क मञ्च राखिएको छ । १ वर्षभित्र महाधिवेशन गर्ने गरी तत्कालका लागि तदर्थ समिति गठन गरिएको छ ।

तदर्थ समितिको संयोजकमा वीरबहादुर थापा चयन भएका छन् । थापा एमाले मञ्चका अध्यक्ष थिए । यस्तै, रेशमबहादुर सिंखडा सह–संयोजक, कृष्ण धरेल महासचिव तथा प्रवक्ता र सरोज कुँवर आर्थिक विभाग प्रमुखमा चयन भएका छन् । सिंखडा माओवादी मञ्चका अध्यक्ष, धरेल सचिवका साथै कुँवर एमाले मञ्चका कोषाध्यक्ष थिए । दुवै संगठनमा रहेका अन्य सबै नेतालाई तदर्थ समितिको सदस्य बनाइएको छ, जसमा १ सय भन्दा बढी छन् । संगठन एकताका लागि दुवै संगठनका उच्च तहका नेताहरूको पटक–पटकको प्रयास भएको थियो । तर नेताहरूको व्यवस्थापन गर्न समस्या भएपछि तदर्थ समिति बनाएर १ वर्षभित्र महाधिवेशन गर्ने गरी नयाँ बाटो रोजिएपछि शनिबार एकता घोषणा भएको हो ।

नयाँ संगठनको नेतृत्व, पदाधिकारी र कार्यसमितिमा बसेर काम गर्न धेरैको चाहना भएपछि समस्या परेको थियो । यही समस्या समाधान गर्नकै लागि तदर्थ समिति बनाइएको हो । यो समितिले विधान निर्माण गरेर १ वर्ष भित्र महाधिवेशन आह्वान गर्नेछ । एकतासँगै संगठनभित्र असन्तुष्टि पनि चुलिएका छन् । विशेषगरि एमाले मञ्चका सल्लाहकार गोकर्ण अधिकारी र माओवादी मञ्चका सल्लाहकार युवराज खतिवडाले फरक मत राखेका छन् । भेलामा धादिङबाट नेताहरू गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी, शिव कंडेल, मनराज भण्डारी सहभागी थिए । भेलामा बोल्दै नेता बुर्लाकोटीले संगठन एकतामात्र होइन सबैको मन सकेत एकता हुन आवश्यक रहेको बताए । मुलुकको परिस्थिति बमोजिम नै पार्टी एकता भएको भन्दै उनले अब टुट होइन जुटमात्र भएर मुलुक समृद्ध बनाउनुपर्ने खाँचो औंल्याए । नेता रामबहादुर भण्डारीले देशकै प्रमुख शक्तिभित्र केही तितामीठा कुराकानी हुनु स्वभाविक भएको भन्दै तितालाई बिर्सिएर मीठालाई अंगालेर अघि बढ्नुपर्नेमा जोड दिए । संगठनका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको भेलामा नेकपा नेता शिव कंडेल, धादिङ नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, संगठनका नेताहरू वेनी पाठक, कृष्णबहादुर लम्साल, रमेश कोइराला, रेशम सिंखडा, योगप्रसाद सापकोटा, युवराज खतिवडा, सरस्वती श्रेष्ठ, युगमराज अगस्तीका साथै पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारी र सदस्य किसान सुनार लगायतले बोलेका थिए । उक्त अवसरमा गत चुनावमा पार्टीको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने वीरबहादुर थापा, रेशम सिंखडा, वेनी पाठक, कृष्णबहादुर लम्साल, अर्जुन खतिवडा, ईश्वरकुमार श्रेष्ठ, लुमडि अगस्ती र रामप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो । यसैबीच संगठनका सहसंयोजक रेशम सिंखडाले संगठनभित्र देखिएको मतभेदलाई मिलाएरै अघि बढ्ने बताएका छन् । पोखरा आवाज दैनिकसंग कुरा गर्दै उनले ठूलो संगठनमा केही असन्तुष्टि स्वभाविक भएकोले यो विस्तारै मिल्दै जाने स्पष्ट पारे । उनले भने, ‘भर्खर नबुझेका साथीहरूको चित्त दुखाइ भएको छ । त्यो विस्तारै मिल्दै जान्छ ।’