धादिङमा फोटोग्राफी प्रतियोगीता सम्पन्न, पत्रकार अधिकारीलाई प्रथम पुरस्कार

1717 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लामा  फोटोग्राफी प्रतियोगीता सम्पन्न भएको छ । धादिङ जिल्ला फोटो पत्रकार संघको आयोजनामा भएको जिल्लाका विविध फोटोहरु प्रदर्शनी गरिएको प्रतियोगिताको ३ सय भन्दा धेरैले अवलोकन गरेका थिए । प्रतियोगितामा पत्रकार सिताराम अधिकारीले खिचेको फोटोले प्रथम पुरस्कार पाएको छ । पत्रकार अधिकारीले खिचेको धादिङको सल्यानटारमा अझै सम्म प्रयोगमा रहेको लोप हुने अवस्थामा पुगेको परम्परागत कोलबाट तेल पेल्दै गरेको फोटो प्रतियोगितामा प्रथम भएको हो । प्रथम भएको फोटोलाई नगद २५ हजार,कदर पत्र र ट्रफी प्रदान गरिएको थियो । रासस, नेपाल समाचारपत्र,उज्यालो अनलाइन, इन्सेक अनलाइन लगायतका मिडियाका धादिङ समाचारदाता अधिकारी धादिङका पुराना पत्रकार हुन । उनी फोटो पत्रकारितामा रुची राख्दछन् ।
प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले क्रमश २५ हजार, २० हजार र १५ हजार नगद सहित ट्रफी, र प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल फोटो पत्रकार संघ जिल्ला शाखा धादिङले धादिङ जिल्लामा पहिलो पटक आयोजना गरिएको फोटो प्रतियोगीतामा समावेश भएका ८३ जनाको १ सय ५८ फोटो प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगीतामा समावेश भएका फोटोहरुलाई टप २५, टप १० हुदै उत्कृष्ट ३ फोटो छनोट गरिएको थियो । कृषि, पर्यटन, मानविय संवेदना, शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, खेलकुद र जिल्लाका ऐतिहासिक महत्व बोकेका दृष्यहरुका आधारमा उत्कृष्ट फोटो छनोट गरिएको निर्णायक मण्डलका सदस्य शालिग्राम तिवारीले जानकारी दिए ।
राससका फोटो पत्रकार प्रदिपराज वन्त, स्वतन्त्र फोटो पत्रकार राजन काफ्ले र कान्तिपुर दैनिकका वरिष्ठ फोटो पत्रकार शालिकग्राम तिवारी रहेको निर्णायक मण्डलले प्रतियोगीतामा उत्कृष्ठ फोटो छनोट गरेको थियो । संघका जिल्ला अध्यक्ष नारायण सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता रामवहादुर भण्डारी, नेपाली काँग्रेसका उप सभापति भक्त लामा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिहर सिंह राठोर, पत्रकार महासंघ धादिङका उपाध्यक्ष गायत्री खतिवडा,जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्णप्रसाद अर्यालप्रहरी उपरिक्षक डम्वर विक लगायतको आतिथ्य रहेको थियो ।
प्रतियोगिता फोटो पत्रकार संघले आयोजना गरेको भएपनि फोटोमा सौखिन सबैले भाग लिन पाउने भएकाले गैर पत्रकारहरुको फोटोले प्रतियोगितामा राम्रो सहभागिता जनाएको थियो । कार्यक्रममा धादिङका पुराना पत्रकारहरु मध्येबाट राजेन्द्रप्रताप शाह, धादिङमा जन्मिएर राजधानीमा रही फोटो पत्रकारितामा क्रियाशिल पत्रकार शालिग्राम तिवारीका साथै धादिङका पुराना फोटो स्टुडियो संचालकहरु मध्येबाट जमुना फोटोका लेखबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी प्रतियोगिता संचालनका लागि मुख्य प्रायोजक धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर ६ परेवाटार घरभई दुवईमा रहेर फुलवारी रेष्टुरेन्ट र नेपालीको सगरमाथा रेष्टुरेन्टका संचालक इश्वरप्रसाद उपाध्यायका साथै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने संघ संस्था,व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।