धादिङको यातायातमा अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

2137 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको महसुस गरेकी हुन्। ‘यात्राभरि मुटु नै फुत्केलाजस्तो भइरह्यो,’ उनले भनिन्, ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा बोकेका सवारी चालकहरूले यसरी प्रतिस्पर्धा गर्दा दुर्घटनाको जोखिम बढेको छ।’ अस्पतालमा नियमित चेकजाँचका लागि गएकी उनी झनै बिरामी भएको सुनाइन्।

नियमित रूपमा धादिङ–काठमाडौं यात्रा गरिरहने नीलकण्ठ–३ कै हरिप्रसाद रिजालले पनि यस्तै समस्या भोग्दै आएका छन्। छोटो यात्रा भए पनि यातयात व्यावसायीहरूको प्रतिस्पर्धाका कारण यात्रुहरूले तनाव भोग्नुपरेको रिजालको भनाइ छ। ‘काठमाडौं नपुगुन्जेल ढुकढुक भइरहन्छ,’ रिजालले भने, ‘अलिक बिस्तारै हाँकौं न गुरुजी भन्दा चालक र सहचालकबाट गाडी रित्तै छ अगाडिजान पाए यात्रु अलिक पाइन्छ कि भन्ने उत्तर पाइन्छ।’ यस्ता जोखिमपूर्ण यात्रा कहिलेसम्म गर्ने स्थानीयहरुले ? अनि यातायात व्यवसायी र समितिहरूचाहिँ दुर्घटना भएपछि क्षतिपूर्ति दिएर मात्रै जिम्मेवार बन्ने हो कि दुर्घटना हुनै नदिनतिर लाग्ने ?’

तीव्र गति तथा अनावश्यक प्रतिस्पर्धाका कारण गत जेठ २५ गते काठमाण्डौबाट धादिङ आउँदै गरेको बा३ख २८६८ नम्बरको बस पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिकाको जहरेबाट सडक छेउमा रहेको एउटा घर भत्काउदै त्रिशुली किनारमा खसेको थियो। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि २५ यात्रु घाइते भए। त्यस्तै गत मंसिर १६ गते धादिङको थाक्रे गाउँपालिकाको महादेवबेंसी बजारमा काठमाडौंबाट आउदै गरेको बा३ख ८३९५ नम्बरको बसले सोही दिशाबाट धादिङको गजुरीतर्फ आउँदै गरेको बा३६प ८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गजुरी चिसापानीका नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी श्रीमती गम्भीर घाइते भएकी थिइन्।

प्रहरी रिपोर्ट र प्रत्यक्षदर्शीको भनाइअनुसार सो दुर्घटनामा धादिङ जाँदै गरेका दुई बसबीचको प्रतिस्पर्धा, तीव्र गति र चालकको लापर्बाही नै देखियो। यस्ता घटना उदाहरण मात्रै हुन्। धादिङ–काठमाडौं रुटमा चल्ने बसहरूको आपसी प्रतिस्पर्धाका कारण यात्रुहरू ज्यान जोखिमा राखेर यात्रा गर्न बाध्य छन्। सदरमुकाम धादिङबेंसीबाट काठमाडौं गाडी सञ्चालन गर्ने समिति मात्रै चारवटा छन्। ती समितिका चारवटा गाडी करिब १० मिनेटको अन्तरमा छुट्दा बाटोमा कसले यात्रु पहिले टिप्ने भनेर अनावश्यक होडबाजी गर्दा यात्रुहरु असुरक्षित बनेका हुन्।

पहिले सहकारीमार्फत यातायात सञ्चालन गरिरहेको ‘ग्रामीण यातायात सहकारी संस्था’बाट सरकारले सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेसँगै फुटेर अर्को ‘ग्रामीण यातायात प्रालि’ गठन भएपछि भने यात्रु बटुल्ने व्यवसायीहरुको अस्वस्थ्य प्रतिस्पर्धा झनै बढेको छ। एउटा सहकारी र अर्को कम्पनीबीचको ‘पानी बाराबार’सम्मको स्थिति सडकमा सवारी प्रतिस्पर्धा र चालक–सहचालकको व्यवहारमा झल्किने गरेको छ। सचेत गराउँदा पनि चालकले नटेर्ने गरेको यात्रुहरू बताउँछन्। धादिङबेंसी–मलेखु सडक पक्की भए पनि एक लेनको मात्रै छ र त्यहाँ अत्यन्तै साँघुरा मोड छन्। उक्त सडकमा समेत सवारी चालकहरु एक अर्कामा प्रतिस्पर्धा गरेर यात्रुहरुलाई जोखिमपुर्ण यात्रा गराइरहेका छन्। सवारीचालकहरु भने बाध्यताले गर्दा गाडीहरूबीच प्रतिस्पर्धा बढेको बताउँछन्। नाम उल्लेख नगर्ने सर्तमा एक चालकले भने, ‘साहूलाई धेरै कमाएको देखाउनुपर्छ, खाली गाडी कुदाउने कुरो भएन, अघिको गाडीलाई जितेर हिँडियो भने यात्रु भेटिन्छ कि भन्ने लाग्छ।’

हजारौं गाडीको ओहोर ेहोर हुने पृथ्वी राजमार्ग भएर चल्ने धादिङ काठमाडौं रुटमा मात्रै दैनिक सयभन्दा बढी सवारीसाधन गुड्ने गर्दछन्। यातायातका साधनहरूको प्रतिस्पर्धा हुने गरेको ग्रामीण यातायात सहकारी संस्थाका कोषाध्यक्ष बद्री सुवेदीले बताए। ‘सिन्डिेकट हटेसंगै नयाँ कम्पनीहरु थपिए, प्रतिस्पर्धा बढेकै हो,’ सुवेदीले भने, ‘यातायातजस्तो अति जोखिम हुने क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने हो, तर त्यस्तो देखिएको छैन।’ भन्दा र सुन्दा सामान्य लागे पनि हजारौं यात्रुहरूको ज्यानको सवाल रहने धादिङको यातायात क्षेत्रमा देखिएको यो विकृतिप्रति न कुनै यातायात व्यवसायी जिम्मेवार देखिएका छन्, न कुनै कम्पनी र समिति, न त सरोकारवावला निकायहरू नै। क्षमताभन्दा बढी यात्रु बोक्ने र तीव्र गतिमा सवारी हाँक्नेलाई यदाकदा कारबाही गरेको सुनिए पनि धादिङबेंसीको यातायात क्षेत्रमा देखिएको प्रतिस्पर्धाको विकृति ठूलो समस्याका रूपमा देखा परेको सरोकारवालाहरू बताउँछन्।

जिल्ला प्रहरी कार्यालय धादिङले पनि सवारीसाधनमा हुने यस्ता प्रतिस्पर्धा रोक्न अभियान पनि चलाएको छ। ठाउँ–ठाउँमा प्रहरीहरू परिचालन गरिएको भए पनि समस्या समाधान हुन सकेको छैन।