निर्वाचन आयोगद्वारा तालिम र प्रशिक्षण भत्तामा विभेद-दातृ निकायको तीनदिने प्रशिक्षण भत्ता ५० हजार

768 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, /,निर्वाचन आयोगद्वारा संविधानसभा सदस्य निर्वाचन २०७० को प्रयोजनको लागि देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको मतदाता शिक्षा, कर्मचारीलाई तालिम तथा पत्रकारहरुलाई दिइएको प्रशिक्षणमा वितरण गरिएको भत्तामा विभेद देखिएको छ । निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन गरिने पर्यवेक्षण, मतदातालाई सही तरिकाले मतदान गर्न सिकाइने मतदाता शिक्षा तथा कर्मचारीले स्वतन्त्र रुपमा हाम गर्ने तरिका सिकाइने प्रशिक्षण तथा तालिममा सहभागी भएकाहरुलाई वितरण गरिने भत्तामा ठूलो विभेद रहेको पाइएको छ । सरकारी कोष खर्च गर्दा कुनै पनि नागरिकमाथि विभेद नगरी, रिस नराखी प्रतिशोधको भावना नगरी काम गर्नेछु भनी शपथ खाएर निर्वाचन आयोगमा खटिएका आयुक्त यस्तो विभेदको बारेमा जानकार भए पनि मौन बस्दै आएका छन् । अर्धन्यायिक निकाय निर्वाचन आयोगले नागरिकमाथि दिनदहाडै विभेद गर्न थालेपछि पर्यवेक्षक, पत्रकार तथा मतदाता शिक्षामा सहभागी भएकाहरु असन्तुष्ट बन्न पुगेका छन् । 
पर्यवेक्षण गर्ने तालिममा सहभागीहरुलाई दुईदिने प्रशिक्षण सञ्चालन गरेबापत् कसैलाई तीन हजार भत्ता प्रदान गरिएको पाइएको छ भने कसैलाई एक साताको भत्ताबापत् जम्मा एक हजार आठ सय रुपैयाँ मात्रै दिइएको देखिएको छ । उता, आयोगद्वारा सञ्चालित निर्वाचनसम्बन्धी समाचार संकलन गर्ने पत्रकारहरुलाई प्रदान गरिएको भत्तामा समेत विभेद गरिएको फेला परेको छ । एक साताको प्रशिक्षण भनेर छ दिन प्रशिक्षण दिई जनही एक दिनको एक हजारको दरले भत्ता उपलब्ध गराएको भए पनि काठमाडौंका पत्रकारहरुलाई भने छ दिनको जम्मा एक हजार आठ सय पचास मात्रै भत्ता उपलब्ध गराएको प्रशिक्षणमा सहभागी एक पत्रकारले  बताए । उता, मकवानपुरको हेटौंडामा सञ्चालन गरिएको प्रशिक्षणमा भने एक हजार सात सय मात्रै भत्ता उपलब्ध गराइएको थियो । साथै पत्रकारहरुलाई प्रशिक्षणमा सहभागी गराउँदा नेपाल पत्रकार महासंघसँग समेत सहकार्य नगरेको काठमाडौं जिल्ला शाखाका अध्यक्ष गोविन्द चौलागाईंले बताए । काठमाडौं जिल्लामा सञ्चालन गरिएको पत्रकार प्रशिक्षणमा शाखालाई कुनै जानकारी नै नदिई आयोगकै मनोमानीमा गैरपत्रकारहरु समेत राखेर भत्ता वितरण गरेको गुनासो आएको महासंघ, काठमाडौं शाखाले जनाएको छ ।निर्वाचन आयोगले सिधै सञ्चालन गरेको पत्रकार प्रशिक्षण तथा मतदाता शिक्षा र कर्मचारीलाई तालिममा प्रदान गरिएको भत्ता समेत ठाउँ अवस्था र परिस्थिति अनुरुप फरक–फरक भएको बुझिएको छ । निर्वाचन आयोगले तालिम र प्रशिक्षण भत्तामा गरेको विभेदको सम्बन्धमा निष्पक्ष छानबिन हुनुपर्ने काठमाडौंका एक पत्रकारले जानकारी दिए ।  उता, पर्यवेक्षणको नाममा विदेशी दातृ निकायले दिएको तीनदिने प्रशिक्षण भत्ता मात्रै ५० हजार भएको एक सहभागीले आर्थिक दैनिकलाई बताए । यद्यपि उक्त प्रशिक्षण निर्वाचन आयोगमार्फत् प्रदान नगरी दातृ निकाय युरोपियन युनियनबाट सञ्चालन गरिएको बुझिएको छ । एकै उद्देश्य र एउटै प्रकृतिको लागि प्रदान गरिएको तालिम तथा प्रशिक्षण पक्षपात तरिकाले भत्ता वितरण गरिनु, दातृ निकाय र सरकारका बीचमा समन्वय नहुनुलाई संयोग मात्रै मान्न सकिँदैन ।आर्थिक दैनिकबाट