पत्रकार महासंघको समावेशी विधान संशोधनमा सहमति

742 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

  • केन्द्रीय सभासद् घटाइने

FNJ

काठमाडौं, वैशाख १५ – नेपाल पत्रकार महासंघलाई समावेशी बनाउन विधान संशोधन प्रस्तावमा सहमति जुटेको छ ।

पत्रकारसँग सम्बन्धिक झण्डै एक दर्जन संघ संगठनको सहमति भएपछि अब महासंघको समावेशी विधान समावेशी बन्ने निश्चित भएको हो ।

पत्रकार महासंघका कोषाध्यक्ष शीतल साहका अनुसार एक जना समावेशी उपाध्यक्ष थपिएको छ । महिला र समावेशी र एसोसिएट गरी सचिव तीन जना थपिएको छ ।

खुला सदस्य संख्या सात बनाइएको छ । त्यसमा एक जना अपांगता भएका पत्रकारबाट र एक जना अल्पसंख्यक समूदायबाट राखिएको छ । अहिलेको विधानमा खुला सदस्य थिएन ।

एक महिलासहित तीन सदस्यीय लेखा समितिको व्यवस्था गरिएको छ ।

केन्द्रीय सभासद छनोट अबदेखि १० साधारण सदस्य बराबर एक जना कायम गरिएको छ । अहिले ७ बराबर एक जना थियो ।

केन्द्रीय सभासद् संख्या बढि भएपछि महाधिवेशनमा आर्थिक भार बढेको भन्दै सभासद् संख्या घटाइएको केन्द्रीय सदस्य वालकृष्ण बस्नेतले जानकारी दिए । उनका अनुसार हाल कायम १५ सय सभासद्बाट घटेर १ हजार बनाउँदा ४० प्रतिशत खर्च बस्नेछ ।

बस्नेतले विधान संशोधन प्रस्तावलाई वैशाख २० गतेदेखि हुने २४ औं महाधिवेशनमा पेस गर्ने जानकारी दिए । ‘सैद्धान्तिक सहमतिको प्रस्ताव महाधिवेशनमा प्रस्तुत हुन्छ,’ उनले भने, ‘पत्रकार महासंघलाई व्यवहारिकरुपमै समावेशी बनाइएको छ ।’

सहमतिमा प्रेस चौतारी नेपाल, प्रस युनियन, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मधेसी पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, जागरण मिडिया सेन्टर, मधेस मिडिया हाउस, सञ्चारिका समूह र क्रियाशिल पत्रकार महिला समूहले हस्ताक्षर गरेका हुन् ।

ईकान्तिपुर डट कमवाट