चिसो बढेपछि भूकम्प पीडित थप समस्यामा

2195 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,- चिसो निकै बढेपछि धादिङका भूकम्पपीडितहरु मारमा परेका छन् । भूकम्पले घर पूर्णरुपमा क्षति भएका धादिङका अधिकांश चेपाङहरुको चिसो छल्ने माध्यम नै आगो बनेको छ ।
aago tapdaiधादिङको पिडा गाविस ६ स्यामे डाडाँस्थित यो गाउँ चेपाङहरुको बाक्लो बस्ती भएको ठाउँ हो । सामान्य अवस्थामा पनि आवास र खानेकुराको समस्या भोग्दै आएका यहाँका चेपाङहरु भूकम्पपछि सबै घर विहिन बने । गर्मियाममा सरकारले दिएको त्रिपालमा जसोतसो जीवन गुजारेका उनीहरुलाई जाडो छल्न भने निकै कठिन भएको छ । स्यामेडाँडाका बुधे चेपाङ भन्छन्, ‘न्यानो कपडा र टन्न खानाका लागि सधैँ आसमा बस्ने हाम्रालागि अब त रात काट्ने बास सम्म भएन । जाडाको रात सधैँ त लोभलाग्दो हुन्थ्यो, यो साल त कहिले जाला मात्र भइरहेकोछ ।’
बुधे चेपाङको जस्ते जोडोको पीडा धादिङका अधिकांश भूकम्प पीडितमा रहेको छ । सरकारले र दाताले दिएका जस्तामुनि जाडो याममा न्यानो कपाडा नहुँदा उनीहरु अहिले दाउरो बालेर बस्ने गरेका छन् । आगो तापेकै भरमा रात बिताउन निकै समस्या हुने गरेको सोमबहादर चेपाङको गुनासो रहेको छ । यतिखेर धादिङका ग्रामीण भेगका अधिकांश बालबालिका र बृद्धबृद्धाहरु बारीको पाटामा आगो तापेरै बस्न बाध्य भएका छन् ।
सरकारले दिने भनेको न्यानो कपडा किन्ने रकम गाउंमान कहिले आउँछ, त्यसको उनीहरुलाई पत्तै छैन । टिनको छाप्रोमा चिसोका कारण शीत पर्ने र रातभर तपतप चुहिने पानीबाट कसरी जोगिने भन्ने एकै खालको पीडा सबैजनामा छ । स्थानीय सानुमायाँ चेपाङ सितको थोपाले बिहान उठ्दा निथ्रक्कै हुनु पर्ने अवस्था रहेको दुखेसो पोख्छिन । ओढ्ने ओछ्याउने र लगाउने न्यानो कपडा नहुँदा आगोको तापको भरमा रातको एकाध घण्टा मुस्किलले निद्रा पर्ने गरेको सान्नानी चेपाङ बताउनुहुन्छ । यो मौसममा छाप्रो जतिसुकै टालटुल गरे पनि रातभर चिसो भित्र छिर्न र सित चुहिन नछोडेको उनीहरुको गुनासो छ ।
सरकारले दिने भनेको न्यानो कपडाको रकम ४६ मध्ये ४० गाविसमा पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत राममणि मिश्रले जानकारी दिनुभएको छ । तर रकम पुगेको ४० मध्ये धुवाँकोट गाविसमा मात्र सो रकम वितरण सकिएको छ । अन्य गाविसमा सचिवको अभाव, वितरण मापदण्डमा भएको विवाद जस्ता कारणले अझै केही समय लाग्ने देखिएको छ ।