मध्यरातमा रेडियो धादिङमा हमला, एक करोडको क्षती

562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14441179_1140938545996134_2649997049345458304_nधादिङ,७ असोज – धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट प्रसारित रेडियो धादिङ १०६ मेघाहर्जको भवन मध्यरातमा डोजर लगाएर भत्काईएको छ । जिल्ला वन कार्यालयले धादिङले शुक्रबार बिहान ४ बजेर २० मिनेटमा दुई वटा डोजर लगाएर सामुदायिक रेडियो धादिङ १०६ मेघाहर्जको स्टेसन भत्काएको छ । स्टेसन भवन, उपकरणसँगै रेडियोमा बसेका चार कर्मचारीले आफ्नो लत्ताकपडा, मोबाइल, ल्यापटप पनि निकाल्न पाएनन् भने डिएफओ इमनाथ पौडेलबाटै उनीहरुमाथि अपशब्द, दुर्व्यवहार भयो । झन्डै एककरोड रुपैयाँ क्षतिसँगै एउटा स्वतन्त्र सञ्चारसंस्थाको अस्तित्व मटियामेट गराउने काममा धादिङको वन कार्यालय लागेपछि यतिखेर धादिङमा यसलाई राजनीतिक इगोको बदला लिइएको भनेर परिभाषित पनि गरिएको छ ।
जिल्ला वन कार्यालय धादिङकले सुरक्षाफौजको साथ लिएर मध्यरातमा रेडियो धादिङको भवनमा डोजर लगाएर भवन भत्काएको हो ।
जिल्ला वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा वन रक्षकहरु र ठूलो संख्यामा पुगेका प्रहरी टोलीले रेडियो भित्र सुतेका पत्रकारहरुलाई दुव्र्यवहार गर्दै लुगा समेत लगाउन नदिई बाहिर निकालेर रेडियोमाथि आक्रमण गरेको हो ।
राती ४ बजे ठूलो संख्यामा प्रहरीसहित दुईवटा डोजर लिई वन अधिकृत रेडियोको भवन पुगेका थिए । जिल्ला वन प्रमुख पौडेल शसस्त्र वन रक्षक सहित रेडियोभित्र प्रवेश गरी सुतिरहेका रेडियोकर्मीहरुलाई कपडा समेत लगाउन नदिई लछारपछार गर्दै बाहिर निकालेर रेडियोमा तोडफोड गर्न सुरु गरेको पिडित पत्रकारहरुले वताएका छन । रेडियो भित्र प्रवेश गरेका पौडेल आफैँले रेडियोकर्मीहरुलाई धम्की दिँदै पत्रकारहरु शंकर श्रेष्ठ, खेमबहादुर चेपाङ, सौगात लम्साल र प्राविधिक रोमबहादुर श्रेष्ठलाई हातपात गर्दै दुरव्यवहार गरेका थिए ।
भवन भत्काईदा रेडियोका सम्पूर्ण उपकरण समेत ध्वस्त बनाईएको छ । रेडियो धादिङका संचालक सदस्य एवम नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीका अनुसार रेडियोको स्टुडियो, मिक्स्चर, कम्प्युटर, अन्य उपकरण, फर्निचर, सोलार सेट सबै सामानहरु कामै नलाग्ने गरी फुटाईएका छन । कागजपत्र सबै च्यातेर मिल्काईएका छन । रेडियो संचालक समितिका उपाध्यक्ष शान्तबिक्रम वानियाँका अनुसार कम्तिमा १ करोड बराबरको क्षति भएको छ ।
रेडियो धादिङको भवन भत्काएर क्षती पु¥याएपछि रेडियो सँगै वनाईएको हिंसा पीडित महिलाहरुका लागि सुरक्षित आवास गृहको भवन पनि भत्काईएको छ । भित्र सुतिरहेका महिला तथा बालबालिकाहरुलाई एक्कासि भित्र प्रवेश गरेका वन रक्षक र प्रहरीहरुले दुव्यवहार गरी बाहिर निकालेर भवनमा डोजर चलाएको हो । भवन भत्काएपछि हिंसामा परेर न्याय माग्न आइपुगेका सुत्केरी महिला सहित पीडित महिलाहरुको विच्चली भएको छ । घटनाको चौतर्फी निन्दा भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित अमरावती सामुदायिक वन क्षेत्र भित्र भवन वनाई रेडियो स्टेशन चलाएको बिषयमा जिल्लाका केही व्यक्तिले उक्त भवन जसरी पनि भत्काउन निरन्तर दवाव दिंदैं आएका थिए । एक महिना अघिपनि भवन भत्काउने प्रयास हुंदा स्थानीयवासी र रेडियोका शुभचिन्तकहरुले प्रतिवाद गरेपछि वन अधिकृत केही पछि हटेका थिए । जसरी पनि रेडियोको भवन भत्काएरै छाड्ने वन अधिकृत पौडेलको अडानलाई जिल्लाका प्रमुख दलहरुले समर्थन नगरेपछि चितवन टिकौलीबाट शशस्त्र वन रक्षक ल्याई चौविसै घण्टा सुरक्षा दलवल सहित बस्दै आएका पौडेलले स्वतन्त्र संचारमाध्यम माथि हमला गरेर क्षती पु¥याएकोमा यस घटनाको सर्वत्र निन्दा गरिएको छ ।

मोबाइल पनि निकाल्न पाइनँ
शंकर श्रेष्ठ, न्युज कोर्डिनेटर, रेडियो धादिङ
तीनबजेतिर नै निकै गाइँगुइँ चलिरहेको थियो । चार बजेतिर डिएफओ आफैँ आए । हामीलाई उठ् भनेर एक्कासि गेटमा लात्ताले हान्न थाल्यो । गेटमा लात्ताले हानेपछि को आयो, किन आयो भनेर सोध्यौँ । बाहिर बत्ती बलेको थियो, हामीलाई थाहा थिएन, प्रहरी आएको । त्यसपछि मैले नै गेट खोलेँ । ‘खुरुक्क गेट खोलिहाल’ भन्दै अपशब्द प्रयोग गर्न थाले । म कपडा लगाउँछु, मोबाइल लिएर आउँछु भनेँ । सरलाई फोन गर्छु भनेँ । एउटा मोबाइल चैँ खल्तीमै थियो । सरलाई फोन गर्दा खोसियो । भित्र पसेर फोन गर्न खोजेँ, तार चुँडाइयो । यति तनाव दिइयो कि क्रुर जंगली शासनको झल्को आइरहेको थियो । यो कुनै चोर, डाँका, हतियारधारीको समूहसँग प्रस्तुत भइरहेको जस्तो व्यवहार गरियो । उनीहरुले भत्काउन सुरु गरे ।

मैले एउटा मात्र फोटो खिचेको थिएँ, उनीहरुले तँ को होस् भन्दै फोटो खिच्न पनि दिएनन्, मेरै मन्दिर भत्काए अनि मलाइ नै भनेः तँ को होस् ? लोकतन्त्रमा यो भन्दा बढी स्वाभिमान र पहिचानमा प्रहार अरु के होला ? केही निकाल्न पाइनँ । मेरो मोबाइल, ल्यापटप पनि निकाल्न दिएनन्, एउटा रेकर्डर तानेको थिएँ, त्यो पनि खोजेर भत्काएकै ठाउँमा हालिदिए । घर भत्काए पनि उपकरण ध्वस्त नपार भनेको थिएँ । डिएफओले सोलारको प्यानलसमेत भत्काउन आदेश दिए । आफूले पुजा गरेको र सम्मान गरेको सामान किचिमिची पारियो । रुँदै रुँदै हेरियो, केही गर्न सकिनँ । यो महिनाभरिमा खाली गर्छौँ भनेर समय मागेकै थियौँ । राति आएर यसरी हमला हुनुमा कर्मचारीमा राजनीति हावी भएको हो । धादिङका सिडिओ, एलडिओ र डिएफओ एउटै पार्टीका छन् । शक्तिमा भएका बेला पावर देखाएका होलान्, अहिले यति भन्छु ।
बहादुरीका साथ भत्काइदिएँ रेडियो धादिङ
इमनाथ पौडेल, डिएफओ, धादिङ

म चैतमा धादिङमा आएको हुँ । कार्यालयमा परेका विभिन्न उजुरीका फाइल, स्थानीय क्षेत्र अतिक्रमणमा परेका स्थलको अनुगमन क्रममा रेडियो धादिङले पनि सामुदायिक वनको जग्गा अतिक्रमण गरेको भेटियो ।
त्यसपछि मैले सातदिन भित्र प्रमाण ल्याउन भनेँ । तर उनीहरुले अनुमति ल्याउन सकेनन् । साउनमा भएको यो घटनाक्रमपछि स्टेसन हटाउन भनियो । साउन १९ गतेदेखिका घटनाक्रम हुन् यी । मैले अन्त पनि वन क्षेत्र कब्जा गरेका होटलहरु हटाउन थालेँ । साउन २९ गते भनिएको थियो । हटाउने काम भएन । त्यसपछि त्यहाँ जाँदा ढुंगामुढा भयो, आक्रमण भएपछि ब्याक हुनुप¥यो । लगत्तै जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बस्यो । फेरि समय माग भयो तर कुनै निर्णय भएन । त्यसपछि प्रशासनले अतिक्रमित स्थलका संरचना हटाउने अभियान चलाउने भन्यो । रेडियो धादिङ सर्वोच्च गएको थाहा भयो । प्रशासन र डिएफओको तर्फबाट हटाउने भनिएकै हो । तर नहटेपछि आज डिएफओ नै गएर हटाएको छ । अदालतको अन्तरिम आदेश भएको छैन ।

प्रशस्त समय दिएँ । तर डिएफओलाई मान्ने काम भएन । चार जना कर्मचारीले लुगा पनि निकाल्न पाएनन् भन्ने सुनियो । मेरो तर्फबाट कसैमाथि अन्याय भएको छैन । मैले बहादुरीका साथ रेडियो भत्काएँ, मलाई कुनै असुरक्षा पनि छैन, दुई वर्ष धादिङ बसेर काम गर्छु । मैले यसलाई मेरो कार्यकालमा बहादुरी नै मानेको छु ।