हङकङविरुद्व खेल्दै विश्वकपमा नेपालको पहिलो पाइला

500 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नेपाली खेलक्षेत्रको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक दिन आज लाखौँ नेपालीले होलीको रौनकसँगै बंगलादेशमा सुरु हुने टी–२० विश्वकप क्रिकेटको पहिलो खेलको मजा लिँदै छन्।

सबै विश्वकपमा अरू देशको समर्थनमा बाँडिने नेपाली क्रिकेटप्रेमीलाई पहिलोपटक आफ्नै देशको समर्थनको अवसर मिलेको छ ।

बंगलादेशको जोहर अहमद चौधरी स्टेडियममा नेपालको पहिलो विश्वकप परीक्षा आज हङकङसँग हुँदैछ । यो खेलसँगै आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेपालको यात्रा प्रारम्भ हुनेछ।

पूरापुरी दुई दशक अन्तर्राष्ट्रिय क्रिकेटमा लागिपरेको नेपालका लागि यस्तो विश्वस्तरीय स्पर्धाले विश्वलाई नेपाली क्रिकेटबारे चिनाउनेछ। ‘यो नेपाली क्रिकेटलाई संसारभर चिनाउने एउटा अवसर हो,’नेपाली कप्तान पारस खड्काले भनेका छन्,’यसका लागि हामी आतुर छौं।’

क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २००७ देखि टी–२० विश्वकप थालनी गरेको थियो । सीमित स्रोत तथा साधनमा नेपालले आधा दशकमै विश्वकपमा आफ्नो स्थान बनाएको छ। नेपाल चौथोपटकको प्रयासमा टी–२० विश्वकपमा पुगेको हो । पहिलो दुई छनोट खेलमा नेपाल सहभागी नै हुन पाएको थिएन।

नेपालले समूह ‘ए’ मा आयोजक बंगलादेशसहित हङकङ र अफगानिस्तानको सामना गर्दैछ। समूहमा शीर्ष स्थान प्राप्त गर्ने देश दोस्रो चरण अर्थात सुपर टेनमा पुग्ने छ।

हङकङविरुद्धको पहिलो खेलसँगै नेपालले विश्वकपको औपचारिक ढोका खोल्दै टोलीलाई विश्वकप खेल्ने राष्ट्रको रूपमा परिचय गराउने छ। यसले विश्व क्रिकेटमा नेपाललाई हेर्ने नजरमै परिवर्तन ल्याउने क्रिकेट विज्ञहरूको ठम्याइ छ।

हङकङ नेपालकै स्तरको चिरपरिचित प्रतिस्पर्धी देश हो। यी दुवै पहिलो पटक विश्वकपमा सहभागी हुन लागेका राष्ट्र हुन् ।

आईसीसी टी-ट्वान्टी विश्वकप छनोटअन्तर्गत नेपालले यसअघि हङकङविरुद्ध खेलेका दुवै म्याचमा बाजी मारेको थियो । सन् २०११ को छनोट खेलमा २८ रनले जितेको नेपालले २०१३ मा जित्न अन्तिम बलसम्म कुर्नुपरेको थियो ।

यता हङकङ गत जनवरीमा न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा नेपालमाथी हङकङ हाबी हुँदै १० विकेटको जित हात पारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको छ।

विश्वकप प्रतियोगितापूर्व खेलेका दुई अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो । बलियो आयरल्यान्डविरुद्ध रोमाञ्चक खेलमा ५ विकेटले हारेको नेपाल युएईसितको कमजोर ब्याटिङ गर्दै ६ विकेटले पराजित भयो । दुबईमा एक हप्ता विशेष प्रशिक्षणका लागि बिताउदा नेदरल्यान्ड्ससँग पराजित नेपालले अभ्यास खेलमा युएईलाई पराजित गरेको थियो।

यता क्रिकेटमा ठूलो फड्को मारेको हङकङ भने टेस्ट खेल्ने राष्ट्र जिम्बावेलाई ४ विकेटले र नेदरल्यान्डलाई २७ रनले पराजित गरेको थियो।

बंगलादेश जानुअघि दुबईमा खेलिएको अभ्यास खेलमा हडकडले आयरल्यान्ड र नेदरल्यान्डलाईसमेत हराएको थियो।

सन् २०१२ को छनोटमा सातौँ स्थानमा भएको विश्वकपमा सहभागी हुन पाएको थिएन चने यसपाला छनोट प्रतियोगितामा नेपालले हङकङलाई  पन्छाउँदै वर्षौँदेखिको विश्वकप खेल्ने सपना पूरा गरेको हो ।

राणाकालदेखि सुरु नेपाली क्रिकेट गणतन्त्रमा आएर मात्र अहिलेसम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको हो।

क्रिकेटबाहेक नेपाल कुनै पनि ‘टिम’ गेममा विश्वकपमा पुगेको छैन । छनोट प्रतियोगितामा हङकङलाई नै हराएर विश्वकपमा पुगेको नेपालले विश्वकपको पहिलो खेल हङकङसित नै खेल्नु संयोग बनेको छ । छनोट प्रतियोगितामा हङकङविरुद्ध पाएको जितको स्मृतिले नेपाली खेलाडीको मनोबल उच्च राख्ने अपेक्षा गरिएको छ ।

नेपाल र हङकङ अहिले डिभिजन टू मा छन भने हङकङले एकदिवशीय मान्यता समेत प्राप्त गरेको छ । एशियामा टेष्ट मान्यता पाएका देश बाहेको वरियातामा नेपाल भन्दा हङकङ एक स्थान माथी छ ।

आगामी अप्रिल ६सम्म बंगलादेशमा हुने प्रतियोगितामा नेपाललगायत अरु १५ मुलुकले प्रतिस्पर्धा गर्दै छन्। आयरल्यान्ड, अफगानिस्तान, नेपाल, हङकङ र युएई मात्र विश्वकपमा टेस्ट मान्यता नपाएका टोली हुन् ।

यसबाहेक साबिक विजेता वेस्टइन्डिज, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, जिम्बाबे, न्युजिल्यान्ड तथा दक्षिण अफ्रिकाजस्ता शक्तिशाली राष्ट्रसँग खेल्नका लागि नेपालले पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै समूह बिजेता बन्नुपर्ने हुन्छ सेतोपाटी  डट कमले खवर लेखेको छ ।