महादेवस्थान गाविसका भुकम्प पीडितलाई राहत

581 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11186396_850540428350722_874883045_nचितवन, १९ बैशाख । गाउँ विकास युवा क्लब,भरतपुर १८, पश्चिम रामपुरका युवाहरुले भुकम्प पीडितका लागि संकलन गरेको राहत धादिड जिल्लाको महादेवस्थान गाविसका भुकम्प पीडितलाई दिएका छन् । महादेवस्थान गाविस वडा नम्वर ३, ब्रुसबाड र लाइपुर गाउँका ५० परिवारलाईलाई १५ क्वीन्टल चामल, दाल, नुन तेल र ब्ल्याड्केट सहयोग गरेको क्लबका अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए । बैशाख १२ गते गएको भुकम्पले ब्रुसबाड र लाइपुरका सबै घर पल्टिएका छन् । लाइपुर गाउँको जमिन नै फाटेको छ । आफूहरु बसेको डाँडाँ नै चिरिँदा स्थानीय त्रसित छन् । स्थानीय हर्कबहादुर तामाडले खुला ठाउँमा बस्दा पनि डाँडै पल्टिने त्रास भएको बताए । ७० वर्षका हर्कबहादुरको पाँचै जना छोराका घर भत्किएको छ । उनीहरु बैशाख १२ गतेदेखि खुला आकाशमुनी रात बिताइरहेका छन् । सरकारको तर्फबाट केही राहत नपाइएको पनि हर्कबहादुरले गुनासो गरे । लाइपुर गाउँमा तामाड बस्ती छ । ब्रुसबाडमा भने सबै परिवार चेपाड बस्छन् । उनीहरु सबैको घर पल्टिएको छ । ब्रुसबाडकी कालीमाया चेपाडले घरमा अन्नपात केही नबचेको र बस्ने ठाउँ पनि नभएको बताईन् । बस्ने ठाउँ र खाने कुरा नहुँदा एक सातादेखि उनीहरु खुला आकाशमुनी बस्न बाध्य छन् । गोठमा राखेको एक पाथी पिठो खाएर बाँचिरहेका थियौं, चार घण्टा हिँडेर महादेवस्थान गाविस कार्यालयमा राहत लिन आइपुगेकी कालीमाया चेपाडले भनिन्, हामीलाई कसैले खाने कुरा पनि दिएको छैन, त्रिपाल पनि पाएका छैनौं